वालिङमा स्केट सिटी हल र सप्तक डान्स स्टुडियोको बहुउद्देश्यीय परियोजना असार १ गतेदेखि सञ्चालनमा आउने

0
16
Google search engine

वालिङ, २६ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ मा अवस्थित ’स्केट सिटी हल’ र ’सप्तक डान्स स्टुडियो’ को संयुक्त पहलमा आगामी असार १ गतेदेखि विभिन्न स्वास्थ्य, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सहितको बहुउद्देश्यीय परियोजना औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
“खेलकुद र कला सँग संस्कार र संस्कृति“ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको यस नयाँ योजनाका बारेमा जानकारी दिन सोमबार स्केट सिटी हलमा पत्रकार भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । वालिङ स्केट सिटी हलको आयोजना तथा सप्तक डान्स स्टुडियोको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राधाकृष्ण डुम्रेले खेलकुद र कलाको क्षेत्रले युवाहरूलाई रचनात्मक कार्यमा जोड्नुका साथै स्थानीय स्तरमा लुकेर रहेका प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । साथै उहाँले मिडियाको तर्फबाट गर्ने सहयोग र सहकार्य रहने बताउनुभयो ।  
पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिँदै सञ्चालक देवराज गैह्रेले युवाहरूको प्रतिभा प्रस्फुटनका लागि ’स्किल हब’ को रूपमा विकास गर्ने मुख्य उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको बताउनुभयो। सञ्चालक गैह्रेका अनुसार आगामी असार १ गतेदेखि यहाँ संगीत, विभिन्न खेलकुद र फिटनेस सम्बन्धी विशेष प्रशिक्षण कक्षाहरू सञ्चालन गरिनेछन्।
स्वास्थ्य र मनोरञ्जनलाई एकैसाथ जोड्दै हलभित्र आधुनिक जुम्बा क्लास र खेलकुदतर्फ विशेष गरी कराँते खेलको नियमित प्रशिक्षण समेत गराइने तयारी पूरा भइसकेको छ । यी सम्पूर्ण प्रशिक्षण तथा सुविधाहरू सर्वसुलभ र व्यवस्थित बनाउन सबै विधाका लागि मासिक शुल्क मात्र रु १२०० तोकिएको छ । यसका साथै कला र संगीतको क्षेत्रमा अगाडि बढ्न चाहने स्थानीय नवप्रतिभाहरूलाई उनीहरूको क्षमता प्रदर्शनका लागि संस्थाले विशेष मञ्च (प्लेटफर्म) समेत प्रदान गर्ने सञ्चालक गैह्रेले स्पष्ट पार्नुभयो।
यस परियोजनालाई बहुउद्देश्यीय रूपमा अगाडि बढाउन हल परिसरमा अत्याधुनिक रेस्टुरेन्ट समेत सञ्चालन गरिने भएको छ। उक्त रेस्टुरेन्टमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रैथाने नेपाली परिकारहरू पस्किइनेछ भने स्थानीयस्तरमै तरकारी तथा फलफूलको अर्गानिक अचार उत्पादन गर्ने लक्ष्य समेत राखिएको छ। वृद्धवृद्धाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै परिसरभित्र सुरक्षित ’वाक वे’ (तन्दुरुस्तीका लागि हिँड्ने बाटो) को निर्माण गरिएको छ भने विभिन्न संघसंस्थाका तालिम, गोष्ठी, बैठक तथा सेमिनारहरू सञ्चालन गर्नका लागि सुविधायुक्त हल समेत उपलब्ध गराइने सञ्चालक गैह्रेले जानकारी दिनुभयो ।
खेलकुद, कला, स्वास्थ्य र स्थानीय उत्पादनलाई एकै ठाउँबाट प्रवद्र्धन गर्ने यो अभियानले वालिङ र आसपासका क्षेत्रका नागरिक, विशेष गरी युवा र बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ। यस्तै अर्का सञ्चालन बिशाल केसीले यसलाई अपनत्व महसुस गरी सफल पार्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो भने पत्रकारहरूसँग हलको भावी योजना र खेलकुद विकासका विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । वालिङ स्केट सिटी हलका संचालक देवराज गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन नेपाल पत्रकार महासंघका उपाध्यक्ष माधव गैह्रले गर्नुभएको थियो । 

Google search engine
Google search engine