वालिङ, २५ असोज ।
वालिङलाई स्वच्छ, सफा र हरियालीयुक्त सहरका रूपमा विकास गर्ने उद्देश्यले लायन्स क्लब अफ वालिङ ग्रिन होमले वडा प्रहरी कार्यालयको प्राङ्गणमा सिमेन्ट बेन्च, डस्टबिन तथा फूलका बिरुवा प्रदान गरेको छ । क्लबले वडा प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले ६ वटा सिमेन्ट बेन्च, १० वटा डस्टबिन र २०० वटा फूलका बिरुवा वितरण गरेको हो।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटीका रूपमा अघि बढिरहेको वालिङलाई स्वच्छ र सफा नगरका रूपमा स्थापित गर्न नागरिकस्तरबाट सञ्चालन हुने यस्ता अभियान महत्त्वपूर्ण हुने बताउनुभयो। फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको प्रयाससँगै नागरिक र सामाजिक संघसंस्थाको सहभागिताले स्वच्छता अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
लायन्स क्लब अफ वालिङ ग्रिन होमका वर्ष २०२६÷२७ का अध्यक्ष रामु लुइँटेलले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा विश्राम गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।
त्यस्तै, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील घिमिरेले यस अभियानले सेवाग्राहीलाई प्राकृतिक वातावरणमा बसेर विश्राम गर्न सहज हुने बताउनुभयो। कार्यक्रममा लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले लायन्स ग्रान्डमार्फत पूर्णामृत भवानी माध्यमिक विद्यालयको चमेनागृह सुधारका लागि झन्डै दुई करोड रुपैयाँ बराबरको सहयोग गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा लायन्स क्लब ३२५ एमका प्रथम उपाध्यक्ष किशोर बराल, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेन्द्र काफ्ले, लायन्स क्लब अफ वालिङ ग्रिन होमकी प्रथम उपाध्यक्ष लक्ष्मी कुँवर तथा पूर्वअध्यक्ष सजना कोइराला कँडेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
सार्वजनिक स्थलको सरसफाइ, हरियाली प्रवद्र्धन र सेवाग्राहीको सुविधालाई प्राथमिकता दिँदै गरिएको यस पहलले स्थानीय सरकार, सामाजिक संस्था र नागरिकबीचको सहकार्यलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। वितरण गरिएका सामग्रीको उचित प्रयोग र संरक्षणले अभियानको प्रभावकारिता बढाउन सहयोग पुग्नेछ।






