दलहरुले चुनाव प्रचार प्रसारलाई तिब्रता दिंदै

0
6
Google search engine

वालिङ १०, फागुन ।
आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा स्याङ्जाका राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । निर्वाचनकालागि उम्मेदवारी दिएका उम्मेदवारसहित तथा उम्मेदवारबाहेकका विभिन्न दलका नेता कार्यकर्ताहरुले आफ्नो उम्मेदवारका पक्षमा मत माग्दै गाउँ गाउँमा पुगेका हुन् ।
उम्मेदवारसहितको घरदैलो अभियानअन्तर्गत मतदातालाई भेट्दै आफ्नो पक्षमा माहोल सिर्जना गर्नकालागि दल तथा उम्मेदवारले आफ्ना घोषणापत्रमा उल्लेख गरिएका विषयहरुकाबारेमा मतदातालाई बुझाउने र मतदाताको आशिर्वादसहित मत आफ्नो पक्षमा पार्ने गतिविधि अहिले स्याङ्जासहित देशभर चलिरहेको छ ।
निर्वाचनको मिति नजिकिंदै गर्दा स्याङ्जाको चुनावी सरगर्मी ह्वात्तै बढेर गएको छ । जिल्लामा पुराना तथा नयाँ राजनीतिक दलका कूल २४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।
यसैबीच नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङ नगरपालिकाको वडा नं १४ का पेखुदेउराली, बीजगाउँ, दाङ्से, ठाना, कोखे, हुग्दी, कपासे, सिरबानी, हुल्काङ, ठाना करादी, अर्खलबास, बैरे, लंकाकोट, फौदीखोला, छोरेखर्कसहित वालिङ १४ का विभिन्न गाउँ तथा टोलमा पुगेर कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले मतदातासित मत माग्नुभएको हो ।
उम्मेदवार मल्लले देश रहने र नरहनेबीचको निर्वाचन भएकाले देश जोगाउनकालागि पनि नेपाली कांग्रेसलाई मत दिएर बिजयी गराउन अनुरोध गर्नुभयो । उहाँले केन्द्रमा युवा नेता गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास निर्माण गर्ने लगायतका कार्यकालागि संकटका बेलामा देशलाई निकास दिंदै आएको पार्टी नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मत दिएर बिजयी गराउन उहाँले मतदाताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा एमालेले आज वालिङ ७ का केवरे, ताप्के, फिर्से, सपौंदैलगायतका ठाउँमा घरदैलो गरेको छ । नेकपा एमाले स्याङ्जा २ का उम्मेदवार खिमबहादुर थापाले मतदाताको अमुल्य मतले देशको भविष्यलाई निर्धारण गर्ने बताउँदै देशलाई परेको ठुलो संकट र खरानीबाट उठाउनकालागि नेकपा एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले आँफूले जति काम गर्न सक्छु त्यो विभेदरहित र सबैलाई समान तरिकाले ईमान्दारितापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले आज स्याङ्जाका विभिन्न ठाउँमा खुल्ला सभा गरेको छ । रास्वपाका सहप्रवक्ता रमेश प्रसाईले आज ठाउँ ठाउँमा भएका खुल्ला सभाहरुलाई सम्बोधन गर्नुभएको हो । रास्वपाले आज आँधीखोला गाउँपालिकाको जुग्ले बजार, स्याङ्जा बजार, राङखोला, भीरकोट, वालिङ र गल्याङमा खुल्ला सभा गरेको हो ।
सहप्रवक्ता प्रसाईले अरु दलहरुलाई पटक पटक मतदाताले हेर्नुभएकाले यसपटक मत फेरेर रास्वपालाई बिजयी बनाउन आग्रह गर्नुभयो । यसपटक मत परिवर्तन गरेर रास्वपाको स्थायी सरकार बनाउनकालागि मत परिवर्तन गर्न आग्रह गर्नुभएको हो ।
त्यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा क्षेत्र नं २ ले आज वालिङ ११, वालिङ ५, वालिङ ७ र चापाकोटको ३ नम्बर वडाका विभिन्न गाउँ तथा टोल टोलमा घरदैलो गरेको छ । राप्रपाले देशको साझा एजेण्डाहरु बोकेको र देशको निकासकालागि राप्रपाले लिएको एजेण्डा महत्वपूर्ण भएको भन्दै यसपटक राप्रपालाई मत दिएर बिजयी बनाउन राप्रपा स्याङ्जा २ का उम्मेदवार रविन पाठकले बताउनुभयो ।

Google search engine
Google search engine