वालिङ, २० माघ ।
स्याङ्जाको वालिङमा जारी ‘नवौं वालिङ महोत्सवमा भोलि माघ २१ गते विशेष सांगीतिक धमाका हुने भएको छ। माघ १४ गतेदेखि सुरु भई २५ गतेसम्म सञ्चालन हुने यस महोत्सवको आठौं दिनलाई विशेष बनाउन आयोजकले लोक तथा पप विधाका चर्चित कलाकारहरूलाई मञ्चमा उतार्ने तयारी गरेको हो।
महोत्सवको उक्त दिन लोक दोहोरी क्षेत्रका अत्यन्तै लोकप्रिय गायक पशुपति शर्मा मुख्य आकर्षणको रूपमा रहनेछन्। शर्मासँगै लोकदोहोरी गायिकाहरू शिला गुरुङ र ममता तामाङ तथा गायकहरू देवराज गैरे र सुभास गुरुङले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन्। लोक विधासँगै पप संगीतका पारखीहरूका लागि चर्चित सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’को विशेष कन्सर्ट समेत रहने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक पिताम्बर खनाल `सुशील´ले जानकारी दिनुभयो ।
सांगीतिक प्रस्तुति मात्र नभई नृत्य विधामा मोडल तथा डान्सर अस्मिता रनपालको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई घनश्याम रिजाल, मुना अर्याल र जगत गौडेलले सञ्चालन गर्नेछन् ।





