आरती कुँवर
वालिङ, २६ माघ ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित वालिङ, ८ खेलमैदानमा माघ १४ गतेदेखि आयोजना गरिएको नवौँ वालिङ महोत्सवको समापन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको संरक्षणमा गरिएको नवौं संस्करणको महोत्सव आईतबार समापन गरिएको हो । महोत्सवको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सूरकृष्ण बैद्यले महोत्सव एउटा मात्रै उद्देश्य नभएर विभिन्न उद्देश्य पूरा गर्ने थलो भएको उहाँले बताउनुभयो । यस महोत्सवले यहाँका स्थानियहरुले किनमेल, मनोरञ्जन तथा प्रतिभा प्रस्फूटन गर्ने मञ्च प्रदान गरेको बताउदै आर्थिक चलायमानमा समेत महत्पूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले सिद्धार्थ राजमार्ग अन्र्तगत सुनौली–पोखरा सडकमा हजारौको संख्यामा गुड्ने सवारीसाधनहरु वालिङ हुँदै जाने भएकाले सिद्धार्थ राजमार्गको विस्तार एवम् स्तरोन्नति गर्न सकेमा वालिङ लगायत स्याङ्जाकै वृहत्तर विकासमा थप टेवा पुग्नेमा दुईमत नरहने उहाँको भनाई थियो । साथै उहाँले यस क्षेत्रको विकास गर्नको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य युवराज राज भण्डारी, गरिमा विकास बैंकका कार्यकारी प्रमुख माधव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय तथा वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष माधव श्रेष्ठ, समाजसेवी नेत्रप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विगतका संस्करण भन्दा ९औँ संस्करणमा दर्शकहरुलाई पृथक र नयाँपन दिने प्रयास आयोजकको थियो । महोत्सवमा परम्परागत गोल घर, जल परीमा दर्शकको निकै आर्कषण देखियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष खगेन्द्र अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

करिव ४०० स्टलहरु रहेको महोत्सवमा कृषि तथा हस्तकला, शैक्षिक प्रर्दशनी, औद्योगिक र व्यापारिक स्टलहरु रहेका थिए । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी गर्दै र एक करोड १४ लाख ५१ हजार खर्च कटाएर करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य लिएकोे छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन एवम् १० करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखेकोमा लक्ष्य पुरा भएको आयोजकको जनाकारी दिएको हो ।
यस्तै महोत्सवमा आयोजना गरिएको स्याङ्जा डान्स आईडलको उपाधि रविना राम्जारीले हात पार्नुभएको छ भने आयुषा खत्रि द्धितिय, जयन्ती अर्याल तृतिय, सिशम सिंजाली सान्त्वना हुन सफल हुनुभएको छ । महोत्सवमा संचालित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बालविद्या विकास आवसिय मावि प्रथम, साईनभिलेज एकेडेमी मावि द्धितिय, अर्मादी आवसिय मावि तृतिय र पिसजोन इन्टिगे्रटेड एकेडेमी मावि सान्त्वना भएका छन् ।
त्यस्तै भजन प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ प्रथम, जुनेली भजन समूह कालिकाकोट द्धितिय, चिसापानी भजन समूह तृतिय र ओमकारेश्वर भजन समूह पुतलीबजार १३ सान्त्वना भएका छन् ।
त्यसैगरी रत्यौली गित प्रतियोगितामा शान्ति आमा समूह वालिङ ९ सुर्कौदी प्रथम, पेन्सन क्याम्प रोड आमा समूह भकुण्डे द्धितिय, सृजनशिल आमा समूह वालिङ ११ तृतिय, बहुअग्रसर आमा समूह वालिङ २ सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार, ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महोत्सवमा आर्कषक टिकटक बनाउने वालिङ १४ का सुनिल लुँईटेल प्रथम, वालिङ ९ का अर्चना पंगेनी द्धितिय र वालिङ २ का प्रतिमा पौडेल तृतिय हुनुभएको छ । उहाँहरुले पनि नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहेका थिए । महोत्सवको अन्तिम दिन विषेश प्रमोद खरेल र परम्परा समूहको लाईभ कन्र्सट तथा रुपक डोटेलको समेत प्रस्तुती रहेको थियो ।





