वालिङ, १ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षे स्थायी सरकार निमार्णका लागि मौका दिन स्याङ्जाका मतदातालाई अनुरोध गर्नुभएको छ । बिहीबार स्याङ्जाका विभिन्न स्थानहरुमा मतदाताहरुलाई भेटघाट गर्ने क्रममा वालिङका मतदाताहरुलाई सम्बोधन गर्दै रास्वपाका उम्मेदवारहरुलाई मन र मत दिएर विजयी गराई एकपटक मौका दिन अनुरोध गर्नुभएको हो ।
लामिछानेले मुलुकमा व्याप्त भ्रष्टाचार, बेतिथिको अन्त्य गर्न रास्वपाको सरकार आवश्यक रहेको बताउदै आगामी निर्वाचनमा रास्वपालाई बहुमत दिलाउन मतदाताहरुलाई अनुरोध गर्दै लामिछानेले परिर्वतन गरेरै छाड्ने दावी गर्नुभयो ।

पार्टी र आँफूमा विभिन्न खालका उतारचढावहरु आएपनि विचलित नभईकन रास्वपा जनता र देशको हितमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आँफूलाई राज्यबाट अन्याय भएको भन्दै अन्यायमा परेपनि हिम्मत नहारेको समेत बताउनुभएको छ । लामिछानेले विहिबार स्याङ्जाको पुतलीबजार, भीरकोट, वालिङ र चापाकोटमा मतदाताहरुलाई सम्बोधन गर्नुभएको थियो ।






