नैतिकता र संस्कार सिक्ने सबैभन्दा उत्तम थलो गुरुकुल हो : उम्मेद्वार मल्ल

0
322
Google search engine


वालिङ, २४ माघ ।

Google search engine

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ बाट संघीय सांसद प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भागवत प्रकाश मल्लले आज रामनदी धाम (राम्दी) मा पूजा–अर्चना गर्नुका साथै त्यहाँ अवस्थित गुरुकुलका बटुकहरू, वृद्ध आश्रमका बुबा–आमाहरू तथा स्थानीय समुदायसँग भेटघाट गर्नुभएको छ।
भेटघाटको क्रममा उम्मेद्वार मल्लले नैतिकता र संस्कार सिक्ने सबैभन्दा उत्तम स्थान गुरुकुल नै भएको बताउनुभयो। उहाँले वर्तमान समाजमा नैतिक शिक्षाको कमी गम्भीर रूपमा देखिन थालेको उल्लेख गर्दै सभ्य, जिम्मेवार र अनुशासित समाज निर्माणका लागि नैतिक शिक्षा आधारस्तम्भ भएको बताउनुभयो।
उहाँले सत्यनिष्ठा, कर्तव्यबोध, सहनशीलता, सम्मान र सेवाभावजस्ता मानवीय गुणहरूको विकासमा नैतिक शिक्षाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नैतिक शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यालय तहदेखि नै यसलाई अनिवार्य रूपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उम्मेद्वार मल्लले संस्कृत भाषा, गुरुकुल परम्परा तथा धार्मिक–सांस्कृतिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै रामनदी धाम भगवान श्रीरामसँग जोडिएको अत्यन्तै पवित्र र ऐतिहासिक स्थल भएको बताउनुभयो। साथै, कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महिमा उल्लेख गर्दै यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।
कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्म यात्रा गर्न सकिने सम्भावनालाई पर्यटन विकाससँग जोड्दै उहाँले गुरुकुल, मन्दिर, वृद्ध आश्रम तथा समग्र क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Google search engine