वालिङ, २२ माघ ।
दुई प्रदेशलाई जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएको छ । कतिपय योजना तथा पूर्वाधारहरु तोकिएको समय अवधिमा निर्माण सम्पन्न नभएर सास्ती भईरहेका बेला गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी स्याङ्जाको चापाकोट नगरपालिका वडा नं १० किसान र पाल्पाको रामपुर नगरपालिका १० को होस्दीलाई जोडेको कालीगण्डकी नदीमा तोकिएको समयावधि अगावै पुल निर्माण गरिएको हो ।
संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागबाट ठेक्का व्यवस्थापन भई पुल सेक्टर पोखराबाट कार्यान्वयन भएको साईट ईञ्जिनियर बिदुर सुवेदीले बताउनुभयो । २०७९ असोजमा सपना निर्माण सेवा प्रालि हेटौंडाले ठेक्का सम्झौता गरी पुल निर्माण गरेको हो ।
“पुल निर्माण तीब्र गतिमा भईरहेको छ, तोकिएको समयावधि अगावै सकिएको हो” उहाँले भन्नुभयो, “हालसम्म पुलको मेजर कामहरु सम्पन्न भईसकेको छ, अब पाल्पा र स्याङ्जातर्फको पहुँच मार्गमा कालोपत्रेको कार्य हुँदैछ ।”
पुलको मुख्य संरचना निर्माण कार्य सकिएको र अब सामान्य संरचना अन्तर्गत फुटपाथ निर्माण, पहुँच मार्ग निर्माण तथा रंग रोगन कार्य बाँकी रहेको छ । पुल निर्माणकालागि पिएस र भ्याटसहित रु. तीस करोड ६४ लाख ३८ हजार ८०० लागत अनुमान रहेको ईञ्जिनियर सुवेदीले बताउनुभयो ।
६५÷६५ मिटरका तीन वटा स्पान रहेको उक्त पुल दुई सय मिटर लम्बाईको छ । पुलको दुबैतर्फ फुटपाथसहित ११ मिटर चौडाई रहेको उहाँले बताउनुभयो ।
ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा पुल निर्माण सक्नुपर्ने उल्लेख भएतापनि निर्धारित समय अगावै सकिएको ठेकेदार कम्पनीका साईट ईञ्जियिनर दिपक अधिकारीले बताउनुभयो ।
रामपुर नगरपालिका १० होस्दीतर्फ पहुँच मार्ग निर्माण सकिएर अब कालोपत्रेकालागि तयारी अवस्थामा छ । स्याङ्जातर्फ भिरालो जमिनलाई कटान गरेर पहँुचमार्ग निर्माण गरिएको र त्यसलाई थप मजबुत बनाउनकासाथै कालोपत्रे गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमाथि पुल निर्माण भएसँगै यातायातका साधनहरु वारपार गर्न थालिसकेका छन् । यद्यपि पुलको दायाँबायाँतर्फको पहुँचमार्ग पूर्ण भईसकेको छैन ।
पुल निर्माण भएपछि होस्दीस्थित राष्ट्रिय गौरवको योजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरसित स्याङ्जाको चापाकोट प्रत्यक्षरुपमा जोडिने छ । स्याङ्जाको चापाकोट र पाल्पाको रामपुरका स्थानीयहरु बढी लाभान्वित हुने छन् ।





