वालिङ, २७ पुस ।
स्याङ्जाको चापाकोट ८ क्वामीमा रहेको रत्नपुर बहुउद्धेश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कृषि, पशुपालन तथा वचतका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको उक्त सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाको आईतबार क्वामीमा उद्घाटन गर्नुहुँदै कृषि विकास श्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीले सहकारीले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यहरु गर्दै आईरहेको बताउँदै संस्थाका गतिविधिलाई थप मजबुत बनाउँदै शेयर सदस्यहरुको आर्थिक विकासमा कृषि विकास श्रोत केन्द्रले पनि आवश्यक सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
विशेष गरी सहकारीमा आवद्ध कृषकहरुलाई कृषि उत्पादनसँग जोड्नकालागि कृषि विकास श्रोत केन्द्रले यहाँका कृषकहरुलाई बाली अनुसार आवश्यक पर्ने प्राविधिक सल्लाह, परामर्श, कृषि औजार तथा उपकरणहरु, उत्पादित कृषि सामग्रीहरुको भण्डारण तथा बजारीकरणकालागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यहाँ उत्पादित कृषिजन्य सामग्रीहरुको भण्डारण कक्ष नहुँदा समस्या उत्पन्न भएको गुनासो कृषकहरुबाट आएपछि छिट्टै नै भण्डारण कक्ष निर्माणकालागि कार्यालयले समन्वय र पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले वडाभित्र विशेष गरी कृषिमा रहेको संभावनाहरुको पहिचान गरी यहाँका नागरिकहरुको आर्थिक विकासमा सहयोग पु¥याउनकालागि वडाले पहल गर्दै आईरहेको बताउनुभयो । यहाँका कृषकहरुले उत्पादन गरेको कृषिजन्य सामग्रीको भण्डारणकालागि शीत भण्डार निर्माण कार्य अधुरो अवस्थामा रहेकाले यसवर्ष बजेट विनियोजन भई आएकाले अब त्यसकालागि निर्माण कार्य थालिने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य भोजराज भण्डारी, लेखा संयोजक गौरबप्रसाद भट्टराई, उपकार वचत तथा ऋण सहकारी संस्थाका सचिव गोकर्ण भट्टराई, संस्थाका सल्लाहकार परशुराम लम्साल, ऋण उपसमिति संयोजक अर्जुनप्रसाद घिमिरे, संस्थाका पूर्र्व सचिव शिव श्रेष्ठ, संस्थाका व्यवस्थापक टंकनाथ तिवारीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको १७ औं वार्षिक साधारणसभाका सन्दर्भमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, नियमित वचतकर्ता, असली ऋणि, शेयर सदस्यभित्रका विभिन्न कक्षामा उत्कृष्ट अंक ल्याउने बालबालिकाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
संस्थाका उपाध्यक्ष जमुना पौडेलले स्वागत गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष रत्नप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कल्पना थापाले गर्नुभएको थियो ।






