स्याङ्जामा एकीकृत सेवा कार्यालयको सेवा सुरु

0
48
Google search engine

वालिङ, ८ पौष ।
स्याङ्जामा रहेका दुईवटा कार्यालय एकीकृत भई औपाचारिक रुपमा सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार यहाँ रहेका दुईवटा कार्यालय सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालय एकीकृत भई सेवा सुरु गरेका हुन् । नयाँ संरचना अनुसार यस कार्यालयको नाम “गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय” राखिएको छ ।
दुई छुट्टाछुट्टै कार्यप्रकृति भएका कार्यालयहरु एकैठाउँबाट सञ्चालन हुँदा सेवाग्राहिहरुलाई सहजता तथा प्रशासनिक खर्चमा मितव्ययिता आउने एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । उहाँले पौष महिनाबाट विधिवत् रुपमा सेवा सुरु गरिएको र यसबाट स्याङ्जाबासीले प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो ।
साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
त्यस्तै साविकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ ।

Google search engine
Google search engine