स्याङ्जाको भकुण्डेमा सम्पन्न महायज्ञबाट २ लाख २६ हजार वचत

0
112
Google search engine

वालिङ, २५ असोज ।
स्याङ्जाको वालिङ १० भकुण्डेमा सम्पन्न भएको महायज्ञको हिजो आयब्याय सार्वजनिक गरिएको छ ।
शिव पार्वती मन्दिर ब्यवस्थापन समिति तथा नवदुर्गा पुजा ब्यवस्थापन समितिको आयोजनामा बिजयादशमीको घटस्थापनादेखि सुरु भएको श्रीमददेवी भागवत महापुराण ज्ञान महायज्ञको शुक्रबार एक कार्यक्रमकाबीच आयब्याय सार्वजनिक गरिएको हो ।
आयोजकले शुक्रबार चन्दादाता, स्थानीयवासी, सरोकारवालाहरुको एक भेला डाकी महायज्ञ अवधिभर भएको आयब्याय सार्वजनिक गरी भेलाबाट अनुमोदनसमेत गराएको हो ।
महायज्ञमा कूल १० लाख ९६ हजार २६३ दान रकम संकलन भएको पूजा ब्यवस्थापन समितिका कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो । कोषाध्यक्ष श्रेष्ठका अनुसार रसिदबाट आम्दानी १० लाख ९ हजार ८२३, दानपेटिकाबाट ४८ हजार २३०, खरिद सामग्री बिक्रीबाट १८ हजार ३१० र वडा नं ९ बाट सहयोग प्राप्त १९ हजार ९०० सहित कूल १० लाख ९६ हजार २६३ आम्दानी भएको हो ।
खर्चतर्फ भने विभिन्न शीर्षकमा ८ लाख ७१ हजार ६३२ भएको छ । खर्चतर्फ सबैभन्दा धेरै दक्षिणामा ३ लाख १७ हजार ८१० खर्च भएको छ । महायज्ञमा भएको आम्दानीबाट खर्च कटाएर २ लाख २४ हजार ६३१ वचत भएको उहाँले भेलामा जानकारी गराउनुभएको हो ।
आयब्याय सार्वजनिक कार्यक्रममा पूजा ब्यवस्थापन समिति तथा महायज्ञ आयोजक समितिका संयोजक अर्जुनप्रसाद खनालले मन्दिरमा वर्सेनि हुँदै आएको पूजालाई निरन्तरता दिएको बताउनुभयो । उहाँले कुनै उद्देश्य राखेर महायज्ञ आयोजना नगरिएको बताउँदै महायज्ञ अवधिभर सबैले आ–आफ्नो ठाउँबाट खटेर जिम्मेवारी पूरा गर्नुभएकोमा समितिकोतर्फबाट धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले वर्सेनि हुँदै आएको पूजाबाट सङ्कलन भएको रकमलाई अक्षयकोषकोरुपमा विकास गर्दै लैजाने र आगामी वर्षहरुमा सोही रकमको ब्याजबाट मन्दिरको पूजाआजा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा चन्दादाता तथा सरोकारवालाहरुले राखेका विभिन्न जिज्ञासाहरुको जवाफ संयोजक खनालले दिनुभएको थियो ।
आयब्याय सार्वजनिक कार्यक्रममा उपाध्यक्ष विष्णु सुवेदी गैह«ेले स्वागत गर्नुभएको थियो । उपाध्यक्ष टेकलाल खनाल, समाजसेवी भुपराज बगाले, कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद बगालेले महायज्ञ सभ्य र भब्यरुपमा सम्पन्न भएको बताउनुभएको थियो । महायज्ञ सम्पन्न भएको छोटो समयमै आयब्याय सार्वजनिक गरी आर्थिक पारदर्शिता र मितब्ययितामा विशेष ध्यान दिएकोमा सरोकारवाला तथा स्थानीयहरुले समितिप्रति धन्यवाद ब्यक्त गरेका थिए । सोही अवसरमा शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका पहिलो कार्यालय सचिव तोलाकान्त बगाले र लक्ष्मी टेलिभिजनका हरिप्रसाद अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Google search engine
Google search engine