आरती कुँवर
वालिङ, १८ असोज ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि फर्किनु भएका स्याङ्जाका सुवेदार कृष्ण बहादुर कुँवरलाई वालिङमा सम्मान गरिएको छ । कुँवर समाज स्याङ्जाले आज शनिबार वालिङको कुँवर समाज भवनमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सुवेदार कुँवरले सगरमाथा आरोहण गरि देशभर छरिएर रहेका कुँवरहरु तथा समग्र देशको नै गौरव बढाएको भन्दै उहाँलाई उहाँको उच्च सफलताको कामना सहित सम्मान गरिएको कुँवर समाज स्याङ्जाका अध्यक्ष क्याप्टेन हेम बहादुर कुँवरले बताउनुभयो । कुँवर तथा कुँवरको स-परिवारलाई दोसल्ला, मायाको चिनो एवम् खादाले सम्मान गरिएको हो ।
सुवेदार कुँवरले गत जेठ १५ गते सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.उचाई ) तथा विश्वको चौथो अग्लो लोहोत्से (८,५१६मि) हिमालको सफल आरोहण गर्नुभएको थियो । चापाकोट -३, बिनदिमा जन्मिनुभएका सुवेदार कुँवर हाल वालिङ – ८, विपिचोकमा घर भई रोजगारीको शिलशिलामा भारतीय सेना टु अब्लीक टु–फाइभ जिआर गोर्खा राइफल भारतमा कार्यरत हुनुहुन्छ । यसअघि समेत उहाँले सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । गत जेठमा गर्नुभएको आरोहण सहित उहाँले सगरमाथामा दुईपटक आरोहण गर्नुभएको हो भने लोहोत्सेको पहिलो पटक आरोहण गर्नुभएको हो ।
सम्मान कार्यक्रममा कुँवर समाजका वरिष्ठ सल्लाहकार क्याप्टेन भविश्वर कुँवर, सचीव क्याप्टेन दिपक कुँवर, निवर्तमान अध्यक्ष सुवेदार टुन बहादुर कुँवर, केन्द्रिय सदस्य केश बहादुर कुँवर, सहसचिव देवी कुँवर, कोषाध्यक्ष ढाल बहादुर कुँवर, वालिङ नगर कमिटी अध्यक्ष सुवेदार सुर्य बहादुर कुँवर, उपाध्यक्ष मन्जु कुँवर, मन्दिर व्यवस्थापन अध्यक्ष सुभाखर कुँवर सल्लाहकार गुनाखर कुँवर लगायत कुँवर वालिङ समाज परिवारको उपस्थिती रहेको थियो ।





