वालिङ, २० असोज ।
स्याङ्जाको गल्याङ १, मालुङ्गास्थित उत्तरवाहिनीमा भोली मंगलबारदेखी शुरु हुने कालीगण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२को तयारी तिब्र पारिएको छ । स्याङ्जाको गल्याङ, १ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका १ असेर्दीको संगमस्थल उत्तरबाहिनीमा हुने दामोदर धर्मोसत्वको तयारी अन्तिम चरणमा पुगेको हो । असोज २१ ग्ते अर्थात भोलीबाट शुरु हुने महामेला एक महिना कार्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

दामोदर धर्मोत्सव आयोजक समिति संयोजक चैतन्यकृष्णले तयारीको काम तिव्र रुपमा अगाडि बढेको बताउनुभयो । शालग्राम भगवानको थप प्रचारप्रसार गर्दै उत्तरबाहिनीको महिमाको बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले महामेलाको आयोजना गरिएको बताउनुभयो । यहाँ प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतका अवसरहरु पाइनेछन् । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उहाँको भनाई छ ।

हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिती रहनेमा आयोजकको विश्वास छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने भन्दै संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।

उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेलामा उपस्थित भई नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई उहाँको आग्रह छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर अपूर्व लाभलिन उहाँको अनुरोध छ ।






