वालिङ, २२ साउन ।
कालीगण्डकी गाउँपालिका ४ विर्घाकी अन्दाजी २६ वर्षीय श्यामकला पाण्डे र छोरा ४ वर्षीय अतित पाण्डे हिजोदेखि बेपत्ता भएका छन् । उनिहरुको अवस्था अझै थाहा हुन सकेको छैन । पाण्डेको आफ्नो चप्पल, गुलाबी रंगको व्याग, मोबाईल र छोराको चप्पल गल्याङ ५ सेतिवेणिमा भेटिएको थियो । स्थानीयले आमाछोराको चप्पल, व्याग र मोबाईल देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेतिवेणिस्थित पुरानो स्टिमर संचालन हुने ठाउँमा बुधबार दिउँसो उक्त सामानहरु भेटिएको हो ।
सामानहरु एकै ठाउँमा छाडिएको अवस्थामा भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो । हिजोदेखी खोजी कार्य भैरहेको र अझैसम्म पनि आमाछोराको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । आज बिहानैदेखी वडा प्रहरी कार्यालय वालिङ, शसस्त्र प्रहरी ३० नं गुल्म तथा जिल्ला प्रहरी कार्यालयबाट खोजि कार्यका लागी प्रहरीहरु खटिएको चौधरीले जानकारी दिनुभयो । पाण्डेका श्रीमान मणि पाण्डे वैदेशिक रोजगारीका लागी दुवैमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।




