स्याङ्जामा असार अन्तिम सम्म ६२ प्रतिशत धान रोपाई

0
326
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
Google search engine

वालिङ, ३२ असार ।
स्याङ्जामा हालसम्म ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको छ । धान रोपाई हुने १४ हजार ३९० क्षेत्रफलमध्ये ८ हजार ९२२ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले जानकारी दिनुभयो । स्याङ्जाका उत्तरी भेगका पालिकाहरुमा धान रोपाई करीव करीव सकिएपनि दक्षिण पश्चिमी भेगका पालिकाहरुमा रोपाई हुन बाँकी रहेको हो ।

Google search engine

स्याङ्जाको विशेष गरी कालीगण्डकी नदीका फाँटहरु चापाकोट, गल्याङ नगरपालिकाभित्रका फाँटहरु, ज्याग्दीखोला किनाराका फाँट तथा आँधीखोला किनाराका फाँटहरुमा धान रोपाई हुने क्रम जारी रहेको उहाँले बताउनुभयो । “जिल्लाका उत्तरी भेगतिरका खेतियोग्य जमिनहरुमा असारमै रोप्ने चलन भएकाले छिटो सकिन्छ” उहाँले भन्नुभयो, “तर दक्षिण पश्चिमी भेगहरुमा आधाआधी साउनसम्म अर्थात् ढिलो रोपाईं गर्ने भएकाले पूरै नसकिएको हो ।”

समग्रमा कृषि प्राविधिकहरुले दिएको तथ्याङ्कका आधारमा उत्तरी भेगमा करीव सम्पन्न भईसकेको र दक्षिणी तथा पश्चिमी भेगहरुमा रोपाई हुनेक्रम जारी रहेकाले औसतमा जिल्लाभर ६२ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । पानीको पर्याप्त सिञ्चाई हुने ठाउँमा समयमै रोपाईं हुने र वर्षायामको पानीको भरमा रोपाई गर्नुपर्ने ठाउँमा मुल फुट्ने खालको वर्षा नहुँदा झनै पर धकेलिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । पानीको सुविधा भएका ठाउँहरुमा रोपो हरियो भएर आईसकेको छ । भलपानी छोपेर रोपाई गरेका केही ठाउँमा चर्को घाम तथा खडेरीले खेतका धाँजा फाट्ने र रोपो सुक्दै जाने गरेको छ ।

स्याङ्जा जिल्लाका चापाकोट टार, जिमूहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय उन्नत जातका धानहरु लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान, साबित्री, सुनौलो सुगन्ध, सामा मन्सुली सव १ जस्ता उन्नत धान लगाउने गरेका छन् । हाईब्रिडतर्फ युएस ३१२, च्याम्पियन लगायतका धानहरु किसानले लगाएका छन् । पछिल्लो समय स्याङ्जा जिल्लाका विभिन्न भागहरुमा बढ्दो बजारीकरणसँगै सडक तथा घर घडेरी बनाउने कार्यले खेतियोग्य जमिन नासिँदै गएको छ । विगतका वर्षहरुमा रोपाईं भएको क्षेत्रफलहरु क्रमशः घट्दै गएको छ ।

Google search engine