वालिङ, १३ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकामा लायन्स क्लब अफ गल्याङ सिटिले स्टेशनरी तथा स्कुल व्याग वितरण गरको छ । गल्याङ वडा नं. २ स्थित बम भञ्ज्याङ् आधारभूत विद्यालयका २० र वडा नं. ११ गल्कोट हुलाक स्थित हुलाक आधारभुत विद्यालयका २७ जना विद्यार्थीहरुलाई बुधबार व्याग तथा स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको छ ।
गल्याङ वडा नं. ११ मा विद्यार्थीहरुलाई स्टेशनरी तथा व्याग वितरण कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष दल बहादुर सिङ्जालीले यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुलाई विद्यालय आउन थप प्रोत्साहन मिल्ने भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

यस्तै गल्याङ २ बम भञ्ज्याङ् आधाररभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्नुहुँदै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ एम नेपालका डिपार्टमेन्ट हेड लायन ओम थापाले विद्यार्थीहरुलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्ने तथा उनीहरुको शैक्षिक यात्रालाई सहज बनाउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ गल्याङ सिटिका अध्यक्ष यौ बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक लायन शिवराज भण्डारीले र सञ्चालन लायन विष्णु अधिकारीले गर्नुभएको थियो ।





