वालिङ, ३ असार ।
स्याङ्जामा ४१ दिनमा फरार रहेका ४२ जना कसुरदारहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा भई आउनुभएका एस पि दधिराम न्यौपानेले नेतृत्व सम्हाले लगत्तै ४१ दिनमा ४२ जना कसुरदारहरुलाई पक्राउ गरिएको हो । गएको जेठ महिनामा मात्रै २९ जना कसुरदार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै असारको १ र २ गते गरि १३ जना कसुरदार पक्राउ परेका हुन् । जेठ र असारमा गरि ४२ जना कसुरदार पक्राउ गरिएको एसपि न्यौपानेले बताउनुभयो ।
फरार रहेका कसुरदारहरुबाट अहिले सम्मकै धेरै जरिवाना संकलन भएको हो । जेठ महिनामा फरार रहेका २४ जना पुरुष र ५ जना महिला गरी २९ जना कसुरदारलाई पक्राउ गर्दा १ करोड ७९ लाख २ हजार १ सय ७ रुपैयाँ जरिवाना संकलन भएको छ । यस्तै असार महिनाको १ र २ गते १० जना पुरुष र ३ जना महिला गरी १३ जना कसुरदार पक्राउबाट २६ हजार ३ सय २५ रुपैयाँ जरिवाना संकलन गरिएको एसपि न्यौपानेले जनाकारी दिनुभयो ।
यस्तै फरार प्रतिवादी पक्राउ संगै, कर छली, अबैध रुपमा जडिबुटी उत्खनन, भन्सार छली तथा पालिका भित्र भैइरहेको अबैध उत्खनन नियन्त्रणमा पनि जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । अबैध नदि उत्खननका ११ जेसिबि, टिप्पर, ट्याक्टर लगायतका सवारीसाधन नियन्त्रणमा आएका छन् भने २ लाख ६० हजार जरिवाना समेत संकलन भएको छ ।





