वालिङ, ३ असार ।
स्याङ्जाको चापाकोट नगरपालिकामा जिल्लामै पहिलो सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ । चापाकोट–९ स्थित चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्रको मंगलबार चापाकोट नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख खाँणले सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै अब सर्पले डसेका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । साथै अब सर्पदंशको उपचारका लागि बिरामीलाई जिल्ला बाहिर वा अन्यत्र जानुपर्ने बाध्यता हटेको पनि उहाँले बताउनुभयो । चापाकोटमा गर्मी समयमा सर्पको डर हुने भएकाले र सर्पको टोकाइमा परेपछि तुरुन्त उपचार गर्न सकियोस भन्ने उद्देश्यले उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो ।
नगरप्रमुख खाँणका अनुसार इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेसंगै आफ्नै पहलमा स्याङ्जा जिल्लामै पहिलोपटक यस्तो उपचार केन्द्रको औपचारिक रुपमा स्थापना गरिएको हो । यसले स्याङ्जा मात्र नभई छिमेकी जिल्ला तनहुँ, पाल्पालगायतका जनतालाई पनि सहज हुने अपेक्षा गरिएको छ । सर्पदंश उपचार केन्द्रमा आवश्यक सबै उपकरणहरू जडान भइसकेको र उपचार सेवा सुरु भएको चापाकोट अस्पतालका डा. अर्जुन पाण्डेले जानकारी दिनुभयो । सेवा सुरु भएसँगै स्थानीयवासीहरु उत्साहित भएका छन् ।





