वालिङमा गरिएको महायज्ञबाट एक करोड ४१ लाख संकलन

0
464
Google search engine


आरती कुँवर
वालिङ, २ असार ।
स्याङ्जाको वालिङमा गत चैतमा गरिएको महायज्ञबाट एक करोड ४१ लाख बढी दान रकम संकलन भएको छ । केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिद्वारा गत चैत १७ गतेदेखि २३ गतेसम्म वालिङ खेलमैदानमा गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान तथा तण्डुलाचल, श्रृङ्गारिक आरति महायज्ञ धार्मिक अनुष्ठानमा रु. एक करोड ४१ लाख ४६ हजार ९८ संकलन भएको हो ।
महायज्ञमा विभिन्न व्यक्ति तथा संस्थागत दान चन्दाबाट एक करोड ३७ लाख २५ हजार ६ सय ६३, दान पेटिकाबाट २ लाख २८ हजार ३ सय ७५ र चामल बिक्रीबाट १ लाख ९२ हजार ६० रुपैयाँ गरी एक करोड ४१ लाख ४६ हजार ९८ रुपैयाँ संकलन भएको सोमबार पत्रकार सम्मेलन तथा आय व्याय सार्वजनिक कार्यक्रममार्फत जानकारी दिईएको हो ।
महायज्ञ सम्पन्न गर्नका लागि महायज्ञमा संकलित रकम मध्येबाट रु. २२ लाख ३६ हजार १ सय ५४ खर्च भएको हो । यसैगरी महायज्ञबाट सङ्कलन भएको रकमबाट केदारनाथ मन्दिरसँगै जोडिएको स्थानमा रु. ६२ लाख ४० हजारको लागतमा ८ आना जग्गा खरिद गरिएको छ । यस्तै महायज्ञमा संकलित रकम मध्येको ५ लाख ५१ हजार ६ सय ६० रुपैयाँ गरिमा विकास बैंकमा मौज्दात रहेको छ भने ११ लाख ५८ हजार ५ सय २ चेक सटही गर्न र अन्य लिन बाँकी वालिङ नगरपालिकाको रु. २५ लाखसहित कूल रु. ३९ लाख ५९ हजार ७ सय ८२ रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिका संयोजक तथा पूर्व वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले केदारनाथ मन्दिरको धार्मिक महत्वकाबारेमा जानकारी दिंदै शिवधाममा परिणत गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि सहयोग गर्ने संघ संस्था तथा महानुभावहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
योगी नरहरिनाथद्वारा स्थापित केदारनाथको महत्व र यसको पहिचान उजागर गर्दै एउटा धार्मिक केन्द्रकोरुपमा विकास गर्ने गरी अगाडि बढेको उहाँले बताउनुभयो । केदारनाथलाई शिवधामकोरुपमा विकास गर्नकालागि आवश्यक पूर्वाधार निर्माण कार्य अब अगाडि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन गर्ने, क्रियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने उद्देश्यसहित महायज्ञ सञ्चालन गरिएको बताउनुभयो ।

Google search engine

कार्यक्रममा महायज्ञ मुल समितिका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारी, सामाजिक व्यक्तित्व विष्णुप्रताप खाँण, महायज्ञ मुल समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठ, निर्देशक समितिका सदस्य अर्जुनप्रसाद खनाल, महायज्ञ मुल समितिका उपाध्यक्ष सीता पाण्डे डुम्रे, लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डे, महिला समाजसेवी प्रेमकुमारी रेग्मी लगायतले वालिङ नगरपालिकाको एउटा गहनाकोरुपमा रहेको केदारनाथ मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्वकाबारेमा थप प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनसँग जोड्दै अगाडि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो ।

केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिका संयोजक तथा पूर्व वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो भने धन्यवाद मन्दिर व्यवस्थापन समिति अध्यक्ष सीताराम अधिकारीले र सञ्चालन महासचिव भुपराज बगालेले गर्नुभएको थियो । यसैबीच केदारनाथ धाम निमार्णका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८२÷०८३को संघीय बजेटमा ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

Google search engine