आरती कुँवर
वालिङ, २४ जेठ ।
सामाजिक र मानवीय कार्यमा सक्रिय नेपाल स्वयंसेवक सञ्जालले जगदीश भुषाल बचाउ अभियानबाट संकलन गरेको रकम हस्तान्तरण गरेको छ । वालिङ वडा नं ९का वडा अध्यक्षको रोहवरमा सञ्जालको टिमले शनिबार एक कार्यक्रम मार्फत जगदीशका भाइ चिरण भुषाललाई चेक हस्तान्तरण गरेको हो ।
वडा नं ९ को सामुदायिक भवनमा गरिएको कार्यक्रममा वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ अमृत, सञ्जालका अध्यक्ष गोविन्द गैह्रे गोपाल लगायतको टिमले १३ लाख १६ हजार ६ सय ६८ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यस्तै कार्यक्रमकै अवसरमा वालिङ साना किसान कृषि सहकारिको समूहले ११ हजार ५०० को चेक र शिक्षक मधुसूदन आचार्यको ३ हजार समेत भुषाललाई हस्तान्तरण गरिएको छ ।
राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष श्रेष्ठले जगदीश भुषालको स्वास्थ्य लाभको कामना गर्दै यो कठिन परिस्थितिलाई सामाना गर्न परिवारलाई हिम्मतले काम गर्न अनुरोध गर्नुभयो । साथै उहाँले विकास निर्माण लगायत अन्य सामाजिक कार्यमा सक्रिय रहेको यो सञ्जालमा जोडिन सहयोगी मनहरुलाई अनुरोध समेत गर्नुभएको थियो । यस्तै वडाले सक्ने कार्य वडाले गर्ने र अन्य तह संग पनि समन्वय गर्दै सहयोगको लागि वडा तत्पर रहेको उहाँको भनाई थियो ।
वालिङ, ९ भुषालथोक निवासी जगदीश भुषालको दुवै मृगौला फेल भएको खबर पश्चात सञ्जालले १० दिने जगदीश भुषाल बचाउ अभियान सञ्चालन गरेको नेपाल स्वयंसेवक सञ्जालका अध्यक्ष गैह्रेले बताउनुभयो । सामाजिक सेवा भावले स्थापना गरेको सञ्जालले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अभियान चलाएको थियो । कार्यक्रममा अध्यक्ष गैह्रेले संस्था तथा अभियानको बारेमा जानकारी दिनुभएको थियो ।
सहयोगि मनहरुले स्वेच्छिुक रुपमा नगद सहयोग गरेको तथा सञ्जालमा आबद्ध व्यक्तिहरुले स्वदेश एवम् विदेशबाट समेत अभियान चलाएको उहाँको भनाई छ । साथै कार्यक्रमका अवसरमा उहाँले यस स्वयंसेवक सञ्जाल सबैको साझा फुलबारी भएकाले यसमा हरेक वर्ग तथा समुदाय समेत अटाउने हुँदा सम्पुर्णलाई जोडिन अपिल समेत गर्नुभएको छ । सञ्जालमा गोलवद्व भएर सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नका लागि जोडिन सहयोगि मनहरुलाई अनुरोध गर्नुभएको थियो ।
३६ वर्षिय भुषालको दुवै मृगौला फेल भएपछि हाल काठमाण्डौ टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारको लागि आर्थिक अभाव भएपछि यस अभियान मार्फत रकम संकलन गरिएको हो । भुषालको आमा, श्रीमती, भाई तथा दुई छोरा हुनुहुन्छ । भुषाल रोजगारीको शिलशिलामा दुबैमा हुनुहुन्थ्यो र केही समय अगाडी नेपाल आउनुभएको थियो ।
यस अगाडि समेत विपना रेग्मी बचाउ अभियान मार्फत झण्डै २ लाख हस्तान्तरण गरेको थियो नेपाल स्वयंसेवक सञ्जाल वि.सं.२०७८ जेठ २२ गते स्थापना भएको थियो । स्थापनाको छोटो समयमा नै सञ्जालले सामाजिक सेवालाई निरन्तर अगाडी बढाउदै लगेको छ । वडा स्तरीय रूपमा काम गरेको सञ्जालले नगरस्तरीय रूपमा काम गर्ने योजना समेत बनाएको छ ।





