वालिङ, २२ जेठ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको सिर्जनात्मक लेखन प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी विद्यालय अर्जुनचौपारी गाउँपालिकाका छात्र गगन ढकाल प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा भवानी माध्यमिक विद्यालय कालिगण्डकी गाउँपालिकाकी छात्रा पल्पसा घिले द्धितीय र शारदा मन्दिर माध्यमिक विद्यालय आँधीखोला गाउँपालिकाकी छात्रा रोशनी ढकालले तृतीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै सरस्वती माध्यमिक विद्यालय पुतलीबजार नगरपालिकाकाकी छात्रा सृष्टि शर्माले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै स्थानिय तहमा पुगेर सिर्जनात्मक लेखन प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगितामा प्रत्येक पालिकाबाट उत्कृष्ट तीन जना विद्यार्थीहरु छनौट गरी जम्मा ३४ जना विद्यार्थीहरु बीच कार्यालयले बिहिबार विभिन्न ३० वटा शिर्षकहरु मध्येबाट गोलाप्रथाद्धारा छनौट भएको शिर्षक “वातावरण संरक्षणमा मेरो दायित्व” शिर्षकमा जिल्ला स्तरीय प्रतियोगिता भएको हो ।
कार्यक्रममा पुरस्कार र प्रमाणपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बालबालिकामा सकारात्मक भावना विकास सँगै बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुर्याउन, तार्किक क्षमताको विकास गर्न सिर्जनात्मक लेखन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, शिक्षकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मूल्याङ्कनकर्ताका रुपमा शिक्षकद्धय अमृत रेग्मी र पुन्य प्रसाद पौडेल रहनुभएको थियो । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख पौडेललको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गर्नुभएको थियो ।





