वालिङ, ४ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई शनिबार स्याङ्जाको पुतलीबजारमा सम्वोधन गर्नुहुँदै आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नै चुनाव चिन्ह रुखमा भोट हाल्न पाउने दावी गर्नुभएको हो ।
“२०८४ मा हुने तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टीकै चुनाव चिन्ह रुखमा नै भोट हाल्न पाउनुहुन्छ” उहाँले भन्नुभयो, “तपाईहरु ढुक्क हुनुहोस् आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले रुख छाडेर अर्कै चुनाव चिन्हमा भोट हाल्नुपर्ने छैन ।”

पार्टीको नेतृत्व जो जसले गरेतापनि आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाने भएकाले नेता कार्यकर्ताले रुख चिन्हमै भोट हाल्न पाउने विश्वास उहाँले दिलाउनुभयो ।
“नागरिकहरु आक्रोशित छन्, रिसाएका छन्, चिन्तित छन्” उहाँले भन्नुभयो, “सरकारको गति, मति बदल्दै अगाडि बढ्नुको विकल्प छैन, जरुरी पनि छ ।”
नेपाली कांग्रेस २०८४ सालसम्म नै सरकारमा रहने उहाँले बताउनुभयो । नेपाली कांग्रेस राष्ट्रिय शक्ति, मुल शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट कांग्रेसलाई नभएको धारणा राख्नुभयो ।
आगामी निर्वाचनभन्दा पहिले नै नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र नै गर्नुपर्छ, धेरै पछाडि लैजानुहुन्न” उहाँले भन्नुभयो, “२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मङ्सिरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले कसरी राम्रो पार्टी बनाउने भन्नेमा सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । विस २०७९ को निर्वाचनमा तीनै तहमा सबै भन्दा ठुलो पार्टी भएपनि जनताले अनुभूति गर्न नपाएको नेता सतारको भनाई थियो । भ्रष्टचार गरेका नेता हिजो नि थिए अहिले पनि रहेको बताउदै नेता सतारले नेपाली काँग्रेसको नीति भ्रष्टचार गर्ने नभएको बताउनुभयो ।
यस्तै केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश कार्यबहाक सभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य अजित क्षेत्री, क्षेत्र नं –१ (ख) सभापति प्रकाश तिवारी लगायतले मन्तब्य राख्नु भएको थियो ।






