वालिङ, ३ जेठ
स्याङ्जाको वालिङमा बालिका तथा किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना, वालिङ नगरपालिकाको समन्वय तथा अकला आवाज मिडिया प्रालिको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । आत्मविश्वासयुक्त बालिका र किशोरी लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण भन्ने मुल नाराकासाथ वालिङस्थित सिटीहलमा तालिम सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले आत्मरक्षा तालिम निकै महत्वपुर्ण रहेको भन्दै नेपाली समुदायको पुरातन परम्पराले महिला दिदिबहिनीहरुलाई साँघुरो घेरामा राखेको बताउँदै यस्ता किसिमका तालिमले त्यस्ता घेरालाई तोड्न सहयोग गर्ने बताउनुभयो । वर्तमान परिप्रेक्षमा संघिय लोकतान्त्रिक गणतन्त्र लागू भएपछिको समयमा महिलाहरुलाई विभिन्न क्षेत्रमा आरक्षणहरु प्रदान गरेको भन्दै त्यस्ता आरक्षणले महिलाहरुलाई राज्यका निति निर्माणदेखि विकास तथा समाज रुपान्तरणमा सहभागि हुने अवसर प्रदान गरेको सांसद तिवारीले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले बालबालिका तथा महिलाहरुको क्षेत्रमा महत्वपुर्ण कार्य गर्दै आएको भन्दै यस्ता तालिमहरुले बालिकालाई थप शसक्त बनाउँनको लागी सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, अकला आवाज मिडिया प्रालिका अध्यक्ष प्रकाश डुम्रेले बालिका तथा किशोरीहरुकालागि आत्मरक्षासम्बन्धी तालिम निक्कै उपयोगी रहेको धारणा ब्यक्त गर्नुभयो । तालिमबाट सिकेका सीपलाई आ–आफ्नो विद्यालयमा फर्केर अन्य सहकर्मीहरुलाई पनि सिकाउनुपर्नेमा जोड दिनुभयो ।
तालिममा वालिङ नगरपालिका भित्रका मावि तहका प्रत्येक विद्यालयबाट २ जनाका दरले ३८ जनाको सहभागिता रहेको छ । तालिममा पहिलो दिन शुक्रबार सहायक हबल्दार तथा कराँने प्रशिक्षक तास्बिन पुनको टोलीले आत्मरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस्तै आज शनिबार रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापा र आयुष्मा काफ्लेले नेतृत्व तथा सकरात्मक सोँच सम्बन्धी प्रशिक्षण दिनुहुनेछ ।






