अस्विन पंगेनी
चापाकोट २४, वैशाख ।
चापाकोट नगरपालिका, स्याङ्जामा आयोजित ४८ घण्टे मेलमिलाप आधारभूत तालिम सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिममा मेलमिलाप प्रक्रियाको सैद्धान्तिक र व्यवहारिक पक्षबारे सहभागीहरूलाई जानकारी दिइएको थियो ।
तालिममा चापाकोट नगरपालिकाका १० वटा वडाबाट आएका समाजसेवी, महिला अगुवा, युवा, शिक्षक, तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रशिक्षकहरूले द्वन्द्व समाधानका विधि, आपसी सहकार्य, विश्वास निर्माण, सहिष्णुता र मेलमिलापका प्रविधिबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै प्रशिक्षक तथा संयोजकले समुदायमा दीर्घकालीन शान्ति स्थापना गर्न मेलमिलापको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तालिममा सहभागी परशुराम गिरि, शेषकाकान्त भण्डारी शान्ति आचार्य, कल्पना रेग्मीले तालिम उपयोगी रहेको जनाउँदै सिकेका सीपहरू समुदायमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमको समन्वय चापाकोट नगरपालिका सँगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरिक्षक दिपक मल्ल वडा अध्यक्ष टोपलाल न्यौपाने, मोहन केसीलगायतले आफ्नो भनाइ राख्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको थियो । नगर उप प्रमुख इशा रानाको अध्यक्षतामा भएको तालिममा स्वागत भुपराज वोस्तीले र कार्यक्रम सञ्चालन वडा न ८ का वडा सचिव शान्ति श्रेष्ठले गर्नुभएको थियो ।