तोलाकान्त बगाले
वालिङ २१ बैशाख ।
स्याङ्जाको वालिङ ८ खेलमैदानमा जारी महायज्ञको पाँचौं दिनसम्म आईपुग्दा झण्डै एक करोड दान रकम सङ्कलन भएको छ । केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरति महायज्ञमा स्वतःफूर्त दान दिनको संख्या बढ्दै गएको हो । पाँचौं दिन आईतबारमात्रै ५३ लाख ५० हजार बढी दान रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
आईतबारमात्रै वालिङ नगरपालिकाले २५ लाख आर्थिक सहयोग गर्ने, वरिष्ठ समाजसेवी एवम् उद्योगी डोलराज शर्मा पंगेनी र उहाँको परिवारबाट १७ लाख, वालिङ नगरपालिका ८ नं वडा कार्यालयबाट २ लाख ५ हजारसहित अन्य दान रकम संकलन भएको उहाँले बताउनुभयो ।
“पाँचौं दिनसम्म आईपुग्दा महायज्ञमा ९७ लाखभन्दा बढी दान रकम संकलन भईसकेको छ” उहाँले भन्नुभयो, “संकलित रकमको पारदर्शिताकालागि हामीले बैंकिङ प्रणालीमार्फत हिसाव राखेका छौं, संकलित रकम समितिमा नराखी जे जति उठ्छ उही दिन बैंकको भौचर भरेर बैंकमै जम्मा गर्ने गरेका छौं ।”
चौथो दिनसम्म ४४ लाख ४३ हजार ३२३ दान रकम संकलन भएको थियो । आयोजक समितिले सवा करोड दान रकम संकलन गर्ने लक्ष्य राखेकोमा पाँचौं दिनसम्म आईपुग्दा लक्ष्य पूरा हुने देखिएको दावी गरेको छ ।
धार्मिक एवम् ऐतिहासिक दृष्टिले महत्वको स्थलकोरुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामकारुपमा स्थापित गर्नकालागि महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताउनुभयो ।
“योगी नरहरिनाथद्वारा स्थापित केदारनाथको महत्व र यसको पहिचान उजागर गर्दै एउटा धार्मिक केन्द्रकोरुपमा विकास गर्नुपर्ने देखिएको छ” उहाँले भन्नुभयो, “केदारनाथ पीठकोरुपमा विकास गर्नकालागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरेका हौं ।”
पवित्र उद्देश्यसहित आयोजना गरिएको धार्मिक महायज्ञमा दानदाताहरुले गर्नुभएको सहयोगप्रति संयोजक खाँणले आभार ब्यक्त गर्नुभयो । महायज्ञस्थल वालिङ खेलमैदानमा उपस्थित भएर कथा श्रवण गरी पूण्य लाभ लिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
वालिङ ८ को वालिङ बजार नजिकै सिद्धार्थ राजमार्गको किनारामै अवस्थित रहेकाले सडक विस्तार गर्दा मन्दिर स्थानान्तरण वा संरक्षण गर्नुपर्ने समस्याकारुपमा देखिएको छ । मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन गर्ने, किरियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने र आर्थिक संकट मोचनकालागि सवा करोड हवन कार्य चलिरहेको भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले बताउनुभयो । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथा प्रवचन गरिरहनुभएको छ ।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा बैशाख १७ गतेबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुने भएको हो ।