वालिङ, १९ वैशाख ।
स्याङ्जाको वालिङमा शुक्रबार दिउसो सिरक डसना उद्योगमा आगलागी हुँदा झण्डै पन्ध्र लाखको क्षति भएको छ । नुवाकोटको मेगन गाउँपालिका ६ घर भई हाल वालिङ नगरपालिका ६ मिर्दीमा रमेश तामाङले सञ्चालन गर्नुभएको आलमदेवी सिरक डसना उद्योगमा चौध लाख ५० हजार बराबरको सामग्रीहरु जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीका अनुसार आगलागीबाट उद्योगमा चौध लाख ५० हजार बराबरको क्षति भएको हो । दिउसो १ बजेको समयमा चलिरहेको मेसिनमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । कपडा पेल्ने मेसिन लगायत फाईबर, लत्ता कपडा जलेर नष्ट भएको छ ।
उद्योगमा लागेको आगो स्थानीयवासी, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बल लगागयतले नियन्त्रणमा लिएका थिए । आगलागी र यसबाट उत्पन्न भएको समस्याका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।