वालिङ, १७ वैशाख ।
स्याङ्जामा गोरु काट्ने पुरुषलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर सिम्लेका ४० वर्षीय टेक भनिने डम्बरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलका अनुसार गोरु काटेर तत्काल फरार रहेका गुरुङलाई बुधबार दिउसो लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई आजै ‘पशुपंक्षी सम्बन्धी कसूर’ मुद्दा दर्ता गरिएको छ । स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
गुरुङले मंगलबार साँझ आफ्नै घरमा रहेको गोरु घर नजिकै बारीमा लगेर काटेका थिए । फलामको घनले टाउको प्रहार गरी गोरुलाई मारेर मासु काटी टुक्रा टुक्रा बनाएका थिए । टुक्रा टुक्रा पारेको मासु घरको आँगनमा ल्याएर त्रिपालभित्र बेरेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको सूचना अधिकारी पौडेलले बताउनुभयो । गोरु काटेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले हिजो राति नै घरमा खोजतलास गरेको थियो । गोरु काट्नकालागि प्रयोग गरिएको हातहतियार तथा अन्य सहायक सामग्रीहरु सबै प्रहरीले बरामद गरेको छ ।