वालिङ, ३ वैशाख ।
नवआगन्तुक स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले औपचारिकतामा धेरै समय खर्च गर्न नहुने बताउनुभएको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले धेरै समय अतिथि आसन ग्रहण र भाषणमा समय धेरै खर्च भईरहेको भन्दै औपचारिकतालाई छोट्याउने परिपाटीको विकास गर्नपर्नेमा जोड दिनुभएको हो । साथै प्रजिअ अर्यालले निजि क्षेत्र भनेको राज्यको महत्वपुर्ण अंग भएको बताउनुभएको छ । हरेक व्यक्ति तथा संस्थाले आफ्नो निजि लगानीमा राज्यलाई कर तिर्दै आफ्नो आर्थिक स्थिती बलियो बनाउँदै धेरैलाई रोजगारी सिर्जना गरिरहेको भन्दै निजि क्षेत्रप्रति सकारात्मक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले आँफू स्याङ्जामा आएको पनि २० महिना पुगिसकेको भन्दै जिल्लाका रहेक स्थानीय तह, संघसंस्था र व्यसायीहरुसंगसगै रहेको बताउनुभयो । चोरी घटनाको दोषीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियामा अगाडि बढेको भन्दै प्रशासनका सेवा प्रवाहलाई चुस्त बनाउँदै समाजको शुसाशन कायम राख्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले व्यवसायिक क्षेत्रमा रहेका विविध समस्याहरुको बिषयमा जानकारी गराउँदैै ब्यवसायीलाई तर्साउने भन्दा पनि नियमित रुपमा सबै क्षेत्रहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले बजार क्षेत्रमा घुम्ती व्यापारीहरुको समस्या प्रमुख समस्याको रुपमा देखिएकोले यसको निषेध वा उचित व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयोे ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायी स्याङ्जा, वालिङ ग्रिन होमलगायतका संस्थाहरुले प्रजिअ अर्याललाई स्वागत गरेका थिए । कार्यक्रममा व्यापारी व्यवसायीले समाजको शान्ती सु–व्यवस्था, अमनचयन कायम राख्न प्रशासनले महत्वपुर्ण भुमिका राख्ने भन्दै प्रजिअ अर्याललाई स्वागत गरेका थिए ।