वालिङ, ३ वैशाख ।
स्याङ्जा थिङ्क ट्याङ्कको आयोजनामा सञ्चालित दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला विभिन्न कार्यक्रम गरी समापन गरिएको छ । वालिङ ८ मेनबजार स्थित वाईसेन्टरको प्राङगणमा आयोजितमा मेलाको समापन गर्दै गरिमा विकास बैंकका अध्यक्ष तथा वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले सीप तथा उद्यमशीलता मेलाले धेरैलाई प्रेरणा प्रदान गरेको बताउनुभयो । जीवनमा हरेक व्यक्तिले धेरै आरोह अवरोह पार गर्दै सफलता प्राप्त गर्ने भन्दै असफलता पनि सफलताको लागी एउटा सिँढीको काम गर्ने व्यक्तिलाई अझ महेनत गर्न बाध्य बनाउने बताउनुभयो ।
अन्तिम दिन बुधबार उद्यमशीलता ईकोसिष्टम निर्माण गर्ने तरिकाका विषयमा सिईओ सुनिल कार्की र सिईओ सुमन मल्लले जानकारी गराउनुभएको थियो भने उक्त छलफलको सञ्चालन शंकर सुवेदीले गर्नुभएको थियो । त्यस्तै हल्ट प्राईज उद्यमशीलताका विषयमा पोखरा विश्व विद्यालयका विद्यार्थीहरुको टिमले खुला मञ्च अन्र्तगत छलफल गरेका थिए । त्यस्तै विभिन्न आमा समूहहरुका लागि वित्तिय साक्षरता तथा बैकिङ ठगीबारे सचेतना, स्र्टाट अप पिच प्रतियोगिता, उद्यमी, विश्वविद्यालय र समुदायबीचको समन्वय निर्माण गर्ने विषयमा सिईओ प्रकाश आर्चायले जानकारी गराउनुभएको थियो भने कार्यक्रममा स्याङ्जा थिंग ट्याङकका संस्थापक अध्यक्ष दिनकर नेपालले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।
त्यस्तै विभिन्न विद्यालयका हेड म्याडमहरुसंग महिलाहरुका लागी नेतृत्वमा अवसर र चुनौतीका विषयमा लक्ष्मी माविका प्रअ सिता गौडेल, सिर्कोट देउराली आविका प्रअ गौमती गुरुङ र जनप्रिय आविका प्रअ खगिसरा गौडेलसंगको छलफल कार्यक्रमको सहजीकरण रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले गर्नुभएको थियो । त्यस्तै गरिमा विकास बैंकको स्थापनाका विषयमा बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले जानकारी गराउनुभएको थियो ।