वालिङ, १७ चैत ।
स्याङ्जाको वालिङ ८ स्थित श्रवणकुमार पार्कमा मौरीपालनसम्बन्धी सात दिने तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना र नवप्रभात युवाक्लबको ब्यवस्थापनमा आईतबारबाट सुरु भएको तालिमको उद्घाटन वालिङ नगरपालिका ८ नं. वडा अध्यक्ष दामोदर तिवारीले गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले तालिमपश्चात उत्पादनसित जोडिन अनुरोध गर्नुभयो । यहाँको वातावरण र चरन प्रशस्त रहेकाले पनि मौरीपालनकालागि प्रचूर संभावना रहेको बताउनुभयो । उहाँले मौरीपालनलाई ब्यवसायिकरुपमा अगाडि बढाउनकालागि आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले तालिमबाट सिकेका सीपलाई दैनिक ब्यवहारमा प्रयोग गरी आम्दानीसित जोडिएमात्रै तालिमको उपयोगिता झल्किने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक शोभाचन्द्र रेग्मी, पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका अधिकृत खुमलाल ढकाल, ब्यवस्थापकीय भूमिकामा रहेको क्लबकोतर्फबाट तोलाकान्त बगालेलगायतले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
तालिममा ढाबखोला र बिपीचोक टोल विकास संस्थाका २० जना कृषकहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गर्ने तयारी रहेको छ ।