वालिङ, ३ चैत ।
वालिङ चेम्बर अफ कमर्शद्धारा आयोजना गरिएको प्रथम पिंक सिटी महोत्सव वालिङ भव्य रुपमा आइतबार सम्पन्न भएको छ । महोत्सवको पुर्व सांसद राजकाजी गुरुङले समापन गर्नुभएको हो । समापनका अवसरमा बोल्नुहुँदै उहाँले नेपालको आर्थिक समृद्धिका लागी जल, जमिन र जंगलको सहि उपयोग आवश्यक रहेको बताउनुभएको छ । पुर्व सांसद गुरुङले नेपाल प्राकृतिक रुपमा धनी देश भएको भन्दै प्रकृतिका अनुपम उपहारहरुको सहि उपयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उर्वर भुमिमै सुन फलाउन सकिने भन्दै जल, जमिन र जंगलको सहि उपयोग गरी देशलाई समृद्धिको बाटोमा लैजान राज्य पक्ष, सबै राजनितिक दल, निजि संस्थाहरुले हातेमालो गर्दै आगडि बढ्नुपर्नेमा उहाँको जोड छ ।
पुर्व सांसद गुरुङले भन्नुभयो, “नेपालमा प्रशस्त जल छन् । जलको धेरै उपयोग गरी धेरै भन्दा धेरै विजुली उत्पादन गरी विदेश निर्यात गर्न सकिन्छ । यहाँका जमिनहरु उर्वराशक्तियुक्त छन् । जमिनमा धेरै उपज फलाउन सकिन्छ तर विडम्बना अहिले संभावना हुँदाहुँदै पनि विदेशी मुलुकबाट आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।” युवाशक्ति विदेश पलायन हुँदा पुर्खाले सुन फलाएका जमिनहरु बाँझो रहँने, दक्ष जनशक्ति विदेशी भुमिमा श्रम बेचिरहने अवस्था रहेको भन्दै स्वदेशमै संभावना तथा लगानीमैत्रि वातावरण सिर्जना गरी स्वदेशी दायित्व र कर्तव्यबोध बनाउन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व विधायन समितिका सभापति मोहन रेग्मीले चेम्बरद्धारा आयोजित महोत्सवले गुलाबी शहरको रुपमा विकास भएको वालिङको पहिचान गर्न आर्थिक चलायमान मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले ठुलो धनराशिको भलिबल प्रतियोगिता, विभिन्न जिल्लाहरुको कविलाई एउटै मञ्चमा उपस्थित गराई साहित्यीक क्षेत्रको प्रर्वद्धनका लागी खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा चेम्बरका सल्लाहकार तथा पुर्व नगरप्रमुख दिलिपप्रताप खांण, गण्डकी प्रदेशका प्रदेश सदस्य लगायतले बोल्नुभएको थियो
कार्यक्रममा चेम्बर अफ वालिङका अध्यक्ष प्रकाश न्यौपाने किरणको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनीले स्वागत र सञ्चालन महासचिव गणेश राउतले गर्नुभएको थियो ।
पmागुन २१ गतेबाट शुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गरिएको थियो ।
२७५ स्टल रहेको महोत्सवमा महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिएको थियो भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको थियो । आयोजकले गरेको लक्ष्य पुरा भएको चेम्बरले जनाएको छ ।