वालिङ, ३ चैत ।
वालिङ ९ र १३ को सिमाना भट्टेचौर आँधीखोला किनारमा यही चैत्र २४ गते बाह्रबिसे मेला लाग्ने भएको छ । पुरानो परम्परा जोगाऔँ, बाह्रबिसे बजारलाई सम्र्वद्धन तथा भव्य बनऔँ भन्ने नाराका साथ बाह्रबिसे संस्कृति संरक्षण समिति वालिङ ९ र १३ को आयोजना तथा वालिङ १३, ९ र १० नम्बर वडाको सहआयोजनामा मेला हुने भएको हो । स्थानीयका अनुसार झण्डै डेढ सय बर्ष अगाडि देखि चल्दै आएको मेला कोभिडकाल देखि सञ्चालन हुन छाडेको थियो । गत वर्षदेखि बाह्रबिसे मेलालाई पुनः सञ्चालन गरिएको छ । चैते दशैँका अवसरमा लाग्ने बाह्रबिसे मेला नयाँ र जागरुक युवाहरूको अगुवाइमा यसपटक पनि सञ्चालन गर्ने तयारीमा युवाहरु जुटेका छन् ।
रामनवमीको अवसरमा हरेक वर्ष चैत महिनामा लाग्दै आएको ऐतिहासिक बाह्रबिसे मेला यस वर्ष पनि भव्य रूपमा आयोजना गरिने भएको हो । स्थानीय संस्कृतिसँग जोडिएको यस मेलालाई ‘चैते पर्व’ को रूपमा समेत चिनिन्छ।
बाह्रबिसे मेला प्राचीन समयदेखि निरन्तर लाग्दै आएको सांस्कृतिक तथा धार्मिक पर्व रहेको भन्दै यस मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, परम्परा, र आर्थिक गतिविधिलाई पनि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाई छ । मेलामा माटोबाट निर्मित भाँडाकुँडा, परम्परागत हस्तकलाका सामग्री, उखु र गुड जस्ता स्थानीय उत्पादनहरूको बिक्री वितरण र प्रदर्शन गरिन्छ भने मेलामा मौलिकता झल्काउने गरिन्छ ।
पहिले तीन दिनसम्म लाग्ने यो मेला कोरोना महामारीपछि एक दिनमा सीमित गरिएको छ । तथापि, मेलाको भव्यता भने यथावत् रहेको भन्दै पछिल्लो समय स्थानीयहरुको चासो र आर्कषणका रूपमा रहेको मेलामा स्थानीय तथा बाह्य पर्यटकहरू सहभागी हुने गरेका छन्। मेलाले धार्मिक आस्थाका साथै व्यापार र सामाजिक मेलमिलापको अवसरसमेत प्रदान गरेको नवनिर्मित समितिका अध्यक्ष अर्जुन गौतमले बताउनुभयो ।
यस वर्ष मेलाको व्यवस्थापनका लागि अर्जुन गौतमको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको छ । जसको सचिवमा ओम प्रकाश गैरे र कोषाध्यक्षमा शिव गैरे रहनुभएको छ ।व्यवस्थापन समितिले मेलाको सहज सञ्चालन, सुरक्षा व्यवस्था तथा सहभागीहरूको सुविधालाई मध्यनजर गर्दै तयारी सुरु गरेको छ ।