आरती कुँवर
वालिङ, २५ फागुन ।
प्रथम पिंक सिटी महोत्सवको चौथो दिनमा उल्लेख्य दर्शकहरुले अवलोकन गरेका छन् । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको महोत्सव अवलोकनका लागी शनिबार भीड लागेको हो । शनिबार गायक राजु गुरुङ, सम्झना लामिछाने मगर लगायतका कलाकार तथा हास्यव्याङ्ग्य राजेन्द्र गुन्द्रुके र मनोज गोर्खालीको टिमको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए ।
शनिबार विदाको समय भएका कारण दर्शकको उत्साहजनक सहभागिता रहेको महोत्सव प्रचार प्रसार समितिका संयोजक गणेश राउतले बताउनुभयो । देश तथा विदेशमा ख्याति कमाउनुभएका कलाकारहरुको प्रस्तुति तथा बालउद्यानका साथै स्टलका सामाग्रीले दर्शकको मन जितेको छ । संयोेजक राउतका अनुसार जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, एकल महिला, ५ वर्ष मुनिका बालबालिकाहरुको लागी पनि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
आज आइतबार महोत्सवमा गायिका रचना रिमाल, जीवन शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, शिवहरी ढुंगाना, किसु गुरुङ, उदयराज डुम्रे, नृत्यकार दिपा रनपाल, प्रजापति पराजुली, राजेश भण्डारीको प्रस्तुति रहनेछ भने पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहनेछ । महोत्सव आगामी चैत्र ३ गते समापन हुनेछ ।