वालिङ, १९ फागुन ।
स्थानीय तहमा महिलाहरुको राजनीतिक सहभागिता अभिवृद्धि गर्न जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सोमबार वालिङमा सम्पन्न भएको छ । स्थानीय सरकार सवलीकरण परियोजना अन्र्तगत एसिया फाउण्डेसनको प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपाल सिडिडब्ल्युएनको आयोजनामा कार्यक्रम गरिएको हो । अभिमुखीकरणको उद्दघाटनमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले समाजमा महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा अगाडि बढ्नका लागी नगरपालिकाले विभिन्न साझेदारी संस्थाहरुसंग सहकार्य गर्दै आयआर्यजन, सचेतनमुलक कार्य, क्षमता अभिवृद्धिका कार्यहरु गर्दै आएको बताउनुभयो ।
विभिन्न समस्या, आरोह, अवरोह पार गर्दै देशको मुल प्रवाहीकरणमा आएका महिला जनप्रतिनिधिहरुका सकरात्मक कथाहरु र विषयवस्तुलाई मिडियाले उजागर गरिदिएमा महिला जनप्रतिनिधिहरुलाई अगाडि बढ्न थप प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले दलित, जनजाति तथा समग्र महिला जनप्रतिनिधिहरुलाई थप उत्साहित गर्नका लागी कसरी सकारात्मक रुपमा रिर्पोटिङ गर्ने, फिचर बनाउने र सञ्चार माध्यममा प्रकाशन गर्ने, महिला जनप्रतिनिधिहरुलाई आफ्ना काम कर्तव्य र अधिकारका बारेमा अवगत गराउँदै उनीहरुका कामलाई समाचारका विषयवस्तु बनाउने, लैंगिक तथा अपांगता समावेशीकरणलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मालगायतले पत्रकारिताका माध्यमबाट महिला जनप्रतिनिधिका सवालहरुलाई थप शसक्त ढंगले अगाडि बढाउने बताउनुभयो । कार्यक्रमको संचालन वालिङ नगरपालिका सूचना तथा प्रविधि शाखाका माधव न्यौपाने र स्वागत द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियारले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।