वालिङ, १६ फागुन ।
प्रथम पिंक सिटी महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको वालिङमा रहेको वालिङ चेम्बर अफ कमर्शको आयोजनामा फागुन २१ देखि चैत ३ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सव सुरु हुने समयावधि नजिकिंदै जाँदा शुक्रबार आयोजकले पत्रकारसम्मेलनमार्फत हालसम्मको कार्य प्रगति तथा तयारीकाबारेमा जानकारी गराएको हो ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मुलनाराकासाथ सुरु हुन लागिरहेको महोत्सव वालिङवासी तथा समग्रमा स्याङ्जा जिल्लावासीको गौरव र पहिचानको विषय भएकाले सबैले आ–आफ्नो ठाउँबाट आयोजकले सहयोगको अपेक्षा गरेको छ चेम्बर अफ कमर्शका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
यसअघि फागुन ९ गतेबाट १८ गते सम्म महोत्सव गर्ने तयारी गरेकोमा स्याङ्जा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवसँगको मिति एउटै हुने भएपछि यस महोत्सवलाई पछाडि सारिएको उहाँले बताउनुभयो ।
महोत्सवमा २५० स्टल छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान गरेको महासचिव गणेश राउतले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले स्याङ्जाका सञ्चार माध्यमहरुले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि सहयोगी भूमिका खेल्ने विश्वास दिलाउनुभयो । कार्यक्रम अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनी र सञ्चालन महासचिव गणेश राउतले गर्नुभएको थियो । महोत्सवमा १०० को प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीलाई ७० रुपैँया, जेष्ठ नागरिक, एकल महिला, अपांङ्ग र पाँच वर्ष मुनिका विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।