वालिङ, ११ फागुन ।
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा महाशिवरात्री पर्वको रौनक छाएको छ । छिमेकी देश भारतमा चलिरहेको महाकुम्भको विशेष समय समेत परेका कारण यो वर्षको महाशिवरात्री अत्यन्तै महत्वपुर्ण रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । महाशिवरात्रीका अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्दै आएको छ । मन्दिरमा आउने भक्तजनहरुलाई सहज मन्दिर दर्शन तथा पुजापाठका लागी मन्दिर व्यवस्थापन समितिले तयारीलाई तिव्र पारेको उहाँले बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसर तथा मन्दिर सरसफाई तथा रङ्गरोगन गरिरहेको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई मध्यनजर गरेर सहज रुपले लाईनमा बसेर पुजा गर्न सकिने व्यवस्था मिलाएको छ भने दु्रत मार्गको पनि व्यवस्था गरिएको छ । टाढा टाढाबाट आउनेलाई मन्दिर परिसर भवनमै आवासगृहको समेत व्यवस्थापन गरिएको भन्दै छिटो पुजा तथा मन्दिर दर्शन गर्न चाहानेले २०० रुपैँयाको दु्रत मार्गको प्रयोग गर्न सक्नेछन् भने वृद्ववृद्वा, अपांग, बच्चा सहितका आमाहरु, प्रेस लगायतलाई दु्रत मार्गमा कुनै शुल्क लाग्ने छैन ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । यहाँ विषेशगरी महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गर्दछन् ।