तोलाकान्त बगाले
वालिङ, ९ फागुन ।
स्याङ्जाको वालिङ ८ विपी चोकस्थित नवप्रभात युवाक्लबले महिलाहरुलाई चुरापोते बनाउने तालिम दिएको छ । महिलाहरुको फुर्सदको समयलाई सदुपयोग गर्दै ब्यावसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले क्लबको आर्थिक सहयोगमा चुरापोते बनाउनकालागि एकहप्ते तालिम सञ्चालन गरेको क्लबका अध्यक्ष मधुसुधन सुवेदीले बताउनुभयो ।
फागुन १ गतेदेखि शुरु भएको श्रृंगारका सामग्री बनाउने तालिम ९ गते शुक्रबार सम्पन्न भएको हो । तालिममा नवप्रभात युवाक्लबमा आवद्ध १२ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमबाट सिकेका सीपलाई दैनिकरुपमा प्रयोग गरी ब्यावसायिकरुपमा अगाडि बढाउनुकासाथै उत्पादित वस्तुहरुको बजारीकरणकालागि क्लबमार्फत सहयोग गर्ने पहल भईरहेको अध्यक्ष सुवेदीले बताउनुभयो । एकहप्तासम्म सञ्चालन भएको तालिममा प्रशिक्षक मनु थापाले सहजीकरण गर्नुभएको थियो ।