वालिङ, २३ वैशाख ।
वालिङ नगरपालिका ८ नं वडाले पचास प्रतिशत अनुदानमा आज कृषकलाई मौरी गोलासहितको घार वितरण गरेको छ । वडा नं ८ अन्तर्गतका बिपी चोक टोल विकास समिति र ढाबखोला टोल विकास समितिलाई मौरी प्रवर्द्धन कार्यक्रममार्फत पचास प्रतिशत अनुदानमा २० वटा मौरीको गोलासहितको घार वितरण गरेको हो । घार वितरण गर्नुहुँदै वडा नं ८ का वडा अध्यक्ष दामोदर तिवारीले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने उद्देश्यले मौरी घार वितरण गरिएको बताउँदै आगामी दिनमा यसप्रकारका कार्यक्रमकालागि वडाले निरन्तर सहयोग गर्दै जाने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सचिव प्रेमनारायण सुवेदीले टोलबासीहरुको मागका आधारमा वडाले दुई वटा टोलकालागि रु. ५०÷५० हजार रकम विनियोजन गरी मौरीको घार वितरण गरिएको बताउनुभयो । दुई वटा टोलकालागि रु. एक लाख र कृषकहरुबाट रु. एक लाख गरी कूल रु. दुई लाखमा मौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो ।

मौरी घार वितरण कार्यक्रममा जिएम मौरीपालन उद्योगका सञ्चालक गोपालप्रसाद गैह्रेले मौरीपालन गर्न ध्यान दिनुपर्ने आधारभूत विषयकाबारेमा जानकारी गराउनुभएको थियो ।






