वालिङमा चालु आर्थिक वर्षको चौमासिक सार्वजानिक सुनुवाई,जनप्रतिनिधिलाई प्रश्नको वर्षा

0
58
Google search engine

वालिङ, १८ पौष ।
वालिङमा चालु आर्थिक वर्षको चौमासिक सार्वजानिक सुनुवाई गरिएको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारीता विषयक चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजानिक सुनुवाई गरिएको हो । गह्रौँ कालिका मिडिया प्रालीको सहजीकरणमा गरिएको सार्वजानिक सुनुवाईमा नागरिकले जनप्रतिनिधिहरुलाई प्रश्नको वर्षा गरेका थिए । कार्यक्रममा वालिङमा देखिएको सहकारीका समस्यादेखि शिक्षक सरुवा बढुवासम्मका प्रश्नहरु नगरिकले गरेका थिए । गतिशिलि बचत तथा ऋण सहकारीका बचतकर्ताहरुको रुवाबासी स्थानीय सरकार र पत्रकारले पनि बेवास्ता गरेको नागरिकको गुनासो छ । श्याम शर्माले भन्नुभयो, “सहकारी पिडित पटक पटक नगरपालिका धाए, मेयरसाबले सहकारी छानविन समिति बनाउने भन्नुभयो । समिति पनि बन्यो तर उक्त समितिको संयोजकलाई प्रगतिको बारेमा प्रश्न गर्दा गैह्रजिम्मेवार उत्तर दिनुभयो ।”
वालिङ नगरपालिकामा रहेका विभिन्न साखाहरुमा स्पष्ट रुपमा कार्यालयको सेवा र सुविधाका विषयमा जानकारी दिने बडापत्र नहुँदा नागरिक अलपत्र पर्ने अवस्था रहेको भन्दै वालिङबाट अन्यत्र बसाईँसराई व्यापक रहेकोमा नगरपालिकाले यसतर्फ ध्यानदिनुपर्ने व्यवसायी तथा युवा प्रकाश अर्यालले बताउनुभयो । त्यस्तै ओमप्रकाश पंगेनीले सार्वजानिक सुनुवाईका लागी समय एकथरी दिने र सुरुवात २ घण्टा ढिला गरी गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने भन्दै जनप्रतिनिधिबाट कस्तो पाठ सिक्ने भन्दै प्रश्न गर्नुभयो । कार्यक्रममा नागरिकहरुले धेरै गुनासो र आक्रोस पोखेका थिए ।
शिक्षक सरुवा बढुवादेखि सार्वजानिक शौचालय सम्मका गुनासाहरु नागरिकको थियो । त्यस्तै ग्रामिण क्षेत्रका नागरिकहरुले कृषिमा वन्यजन्तुको आक्रमणका कारण गाउँ रित्तो हुने अवस्था रहेको भन्दै त्यसतर्फ नगरपालिकाको ध्यान पुग्नुपर्ने बताए ।
वालिङको शिक्षा, स्वास्थ्य, कृषि, बसाईसराई, व्यापार व्यवसाय जताततै समस्या देखिएको भन्दै आगामी १० वर्षमा वालिङको भविष्य कस्तो रहन्छ भन्दै प्रश्न गरे । कार्यक्रममा जिज्ञासाहरुको सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खांणले जनप्रतिनिधिहरुलाई खबरदारी गरिरहने, मागनिर्देश गर्ने सबै सुभेच्छुक भएको बताउनुभयो । नागरिकहरुका खबरदारीका कारण जनप्रतिनिधि सच्चिएर नगरको थप विकासका लागी सकरात्मक उर्जा मिल्ने नगरप्रमुख खांणको भनाई थियो ।
मानवबाट नै मानविय त्रुटि हुने भएकाले नियतबस गर्ने त्रुटि र भुलबस गरिने त्रुटी भने फरक रहेको उहाँको भनाई थियो । वालिङबाट हुने बसाईसराईको विषयमा प्रमुख कारणहरु पत्ता लगाउँदै यहाँ संभावनाहरुको खोजी गरी शिक्षा, स्वास्थ्य र रोजगारीको पक्षलाई सबल बनाएर बसाईसराई रोक्न पहल गर्ने बताउनुभयो । सहकारीहरुमा समयमै नियमन गर्ने निकाय हुन नसक्दा पछिल्लो समय मुलुकका धेरै सहकारीहरुमा समस्या सृजना भएको भन्दै वालिङमा छानविन समितिले नै यहाँका सहकारीहरुमा देखिएका समस्याको निराकरण गर्ने बताउनुभयो । गतिशिल बचतमा देखिएको समस्या समाधानका लागी नगरपालिका लागिपरेको भन्दै अवको एक महिनामा सहकारीको समस्या समाधान गरिने उहाँको दावी थियो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले चालु आर्थिक वर्षमा ९६ करोड १४ लाख १४ हजार ७४१ रुपैँयाको बजेटमा रहेर काम भईरहेको बताउनुभयो । वालिङ नगरपालिकाले सरसफाई क्षेत्र, स्वास्थ्यका क्षेत्रमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको भन्दै कृषिका क्षेत्रमा दुधमा अनुदान, बिउ पुँजीलगायतका कार्यहरु गरेको बताउनुभयो । साथै उहाँले नगरको चिन्तनका लागी नागरिकको आवाज निकै सकरात्मकताका साथ लिएर अगाडि बड्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले चालु आर्थिक वर्षमा अहिलेसमम २३.८३ प्रतिशत चालु खर्चको प्रतिवेदन प्रस्तुत गर्दै पुँजीगत ७.०४ प्रतिशत रकम खर्च भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन गह्रौँकालिका मिडिया प्रालिका अध्यक्ष शुसिल सुवेदीले गर्नुभएको थियो ।

Google search engine
Google search engine