स्याङ्जाका सुन्तला सिजन अगावै बजारमा

0
41
Google search engine

वालिङ, १२ मंसिर ।
स्याङ्जा सुन्तला उत्पादनका हिसाबले नेपालको महत्वपुर्ण जिल्लाको रुपमा स्थापित छ । स्याङ्जाको माटोमा उत्पादित सुन्तला देशका विभिन्न बजारमा पाउन सकिन्छ । अनुकुल हावापानी र मौसमका कारणले पनि स्याङ्जामा फलेका सुन्तला स्वादिष्ट र बनावटको हिसाबले समेत आकर्षक देखिन्छन् । त्यो संगै स्याङ्जामा उत्पादित सुन्तला विषादीरहित हुने हुँदा उपभोक्ताको मुख्य रोजाईमा पर्ने गरेको उपभोक्ताहरु बताउछन् ।
सुन्तलाको सिजन शुरु हुन भन्दा ३ महिना अगावै स्याङ्जाका सुन्तला नेपाली बजारमा पुगिसकेका छन् । स्याङ्जामा उत्पादित धनकुटा स्थानिय (खोकु) जातका सुन्तला यतिबेला पोखरा, काठमाण्डौ, बुटवल, चितवनलगायतका बजारका मुख्य मुख्य चोकहरुमा सहजै भेटिन्छन् ।
साथै भदौ महिनादेखी स्याङ्जामा नै उत्पादन भएका जापानिज उन्सु जातका सुन्तला बजारमा गएको र असोज कात्तिकदेखी खोकु जातका सुन्तला नेपालका विभिन्न बजारहरुमा पुगी सकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार स्याङ्जामा कुल २२ सय हेक्टर क्षेत्रफल सुन्तला बालिले ओगटेको छ ।
जसमा सुन्तलाको वास्तविक उत्पादनशिल बगैँचा कुल क्षेत्रफलको ६० प्रतिशत मात्र रहेको छ । जसको कुल क्षेत्रफलको हिसाबले बाँकी १ हजार ३ सय २० हेक्टर मात्रै जमिन रहेको छ । प्राविधिक सुवेदीले दिएको जानकारी अनुसार गतवर्ष २०८०।०८१ मा स्याङ्जाले सुन्तला बिक्रिबाट १ अर्ब १५ करोड आम्दानी गरेको थियो ।
गएको आर्थिक वर्ष स्याङ्जाको सुन्तला उत्पादन १४ दशमलव ४६ मेट्रिकटन प्रतिहेक्टर रहेको थियोे जुन कुल उत्पादनको १९ हजार ८७ मेट्रिकटनका हिसाबले आन्तरिक खपत अन्तर्गत उत्पादनको १० प्रतिशत अर्थात १ हजार ९ सय आठ मेट्रिकटन कटाएर उत्पादनको ९० प्रतिशत अर्थात १७ हजार १ सय ७८ मेट्रिकटन बिक्रियोग्य परिमाण रहेको थियो ।
सुन्तलाको सुरुवाती सिजनमा ३५ रुपैयाँ प्रति केजी मुल्य रहेको स्याङ्जाको सुन्तला अन्तिम सिजनसम्म एक सय रुपैयाँ विक्रिदर कायम गरी बर्षभरीमा कुल १ अर्ब १५ करोड बराबरको सुन्तला विक्रि गरिएको प्राविधिक सुवेदीले जानकारी दिनुभयो ।
स्थानीय निकायका हिसाबले स्याङ्जामा अन्य पालिकाको तुलनामा पुतलीबजार नगरपालिकामा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । जिल्ला सदरमुकाम रहेको पालिका पुतलीबजारमा ८ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ भने भीरकोटमा ३ सय ५० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको सुवेदीले बताउनुभयो ।
यस्तै वालिङमा २४० हेक्टर जमिनमा सुन्तला उत्पादन हुने गरेको छ । राजमार्गसंग जोडिएको अर्को पालिका गल्याङमा १३० हेक्टर जमिनमा सुन्तला उत्पादन गरिएको छ भने स्याङ्जाको तराईको रुपमा परिचित चापाकोट नगरपालिकामा भने तुलनात्मक हिसाबले थोरै मात्रामा सुन्तला उत्पादन हुने गरेको तथ्यांक देखिएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ सय ७० हेक्टर, विरुवामा १५५, आँधीखोलामा १२५, हरिनासमा ४५ फेदीखोलामा ३५ हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका बाहेक सबै जिल्लामा सुन्तला उत्पादन हुने गरेको प्राविधिक सुवेदीले जानकारी दिनुभयो । यद्यपी सुन्तलाको सिजन मंसिर देखी भएपनि स्याङ्जाको सुन्तलाले भने भदौ, असोज देखी नै बजार पाएका छन् । यसले स्याङ्जाका सुन्तला व्यवसायी उत्साहित देखिन्छन् । पछिल्लो समय जिल्लाका केही ठाउँमा निर्माण गरिएका शितभण्डारले समेत सुन्तला चिस्यानमा व्यवस्थापन गराएर बेमौसमी सिजनमा अनुकूल मुल्य पार्ने अपेक्षा लिएको छ ।

Google search engine
Google search engine