वालिङ, ३० कार्तिक ,
वरिष्ठ समाजसेवी तथा उद्यमी डोलराज शर्माले बालशिक्षा निकेतन आधारभूत विद्यालयमा अक्षयकोष स्थापना तथा विद्यार्थीलाई पोशाक उपलब्ध गराउनुभएको छ ।स्याङ्जाको वालिङ ८ काफलडाँडा घर भई हाल काठमाडौंमा बस्दै आउनुभएका शर्माले वालिङ ११ गब्देमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनुभएको हो । विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापप्रति थप आकर्षित गर्नकालागि विद्यालयमा अक्षयकोष तथा शैक्षिक पोशाक उपलब्ध गराएको वरिष्ठ समाजसेवी तथा उद्यमी शर्माले बताउनुभयो । गरीव, जेहेन्दार, अति विपन्न लगायतका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै प्रोत्साहनस्वरुप रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।आगामी दिनमा पनि यसप्रकारका सहयोगका कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उक्त विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख उपलब्ध गराउने घोषणा गर्नुभएको हो । विद्यालयमा अध्ययनरत ११७ जना बालबालिकालाई शैक्षिक पोशाक, खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, वडा अध्यक्ष डण्डपानी पंगेनी, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रताप खाँण, अक्षयकोषदाता कर्णबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पंगेनीले र स्वागत शिक्षिका सरस्वति पंगेनी भण्डारीले गर्नुभएको थियो ।