वालिङ, २३ असोज ।
एकसय ५० औं विश्व हुलाक दिवसका अवसरमा आज स्याङ्जामा दुई सञ्चारकर्मीसहित आठ जना सम्मानित भएका छन् । स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारका क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत दुई जना सञ्चारकर्मीसहित छ जना उत्कृष्ट हुलाकका कर्मचारी सम्मानित भएका जिल्ला हुलाक कार्यालय स्याङ्जाका कार्यालय प्रमुख एवम् हुलाक अधिकृत गुरुप्रसाद मरासिनीले बताउनुभयो ।
लामो समयदेखि स्याङ्जा जिल्लाको पहिलो ध्वनी तरंग रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समिति वालिङ संवाददाता तोलाकान्त बगाले, गोरखापत्र राष्ट्रिय दैनिक वालिङका संवाददाता राधाकृष्ण डुम्रे सम्मानपत्र तथा दोसल्लासहित सम्मानित हुनुभएको हो । जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका हुलाक कार्यालयमा उत्कृष्ट कार्य सम्पादन तथा लामो समयदेखि सेवामा खटिनुभएका खरिदार, हल्कारा र पत्र वितरकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको उहाँले बताउनुभयो ।
लामो अवधि सेवामा खटिने तथा उत्कृष्ट कर्मचारीकोरुपमा खरिदार गीता पाण्डे, हल्कारा सूर्यप्रसाद अर्याल, प्रभाकर शर्मा, देवाखर न्यौपाने, पत्र वितरक डेलप्रसाद गुरुङ तथा केवल सञ्चालक लालप्रसाद श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित भएका सञ्चारकर्मी तथा कर्मचारीहरुलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा स्याङ्जाका प्रजिअ नेपालले सूचना तथा सञ्चारको भरपर्दो माध्यमकोरुपमा रहेको हुलाकको सेवालाई समयानुसार परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हुलाक सेवाको प्रभावकारिता कम भईरहेका बेला समय सापेक्षरुपमा सेवामा परिवर्तन गरी थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदार, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्याललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो जिल्ला हुलाक कार्यालय स्याङ्जाका शिव सापकोटाको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम हुलाक अधिकृत गुरुप्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन रामबहादुर मगरले गर्नुभएको थियो ।