वालिङ २० असोज ।स्याङ्जाको वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ हुने भएको आज वालिङमा पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
स्याङ्जा जिल्लाका एघार वटै पालिकाको प्रतिनिधित्व हुने गरी पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बीरेन्द्रजंग केसीले जानकारी दिनुभयो ।
सम्बन्धित पालिकाको सिफारिसमा आएका खेलाडीहरुलाई प्रतियोगितामा समावेश गरिने भएको हो ।
प्रतियोगितामा सहभागी हुने खेलाडी जुन पालिकाको हो सोही पालिकाबाट सहभागी हुन पाउने भएको हो ।
कार्तिक २ देखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता लिग विधिबाट सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने पालिकाले रु. एक लाख ५० हजार, द्वितीय हुने पालिकाले रु. एक लाख, तृतीय हुने पालिकाले रु. ७५ हजार र सान्त्वना हुने पालिकाले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार दिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने दावी आयोजकले गरेको छ ।
पत्रकार सम्मेलन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक प्रकाश श्रेष्ठ, अध्यक्ष बीरेन्द्रजंग केसी, निवर्तमान अध्यक्ष टुकप्रसाद अर्याल, भलिबल खेल संयोजक हिमलाल डुम्रे, कोषाध्यक्ष चिरञ्जीवी ढकाल, वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँण लगायतले पत्रकारहरुले उठाएका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।
‘समृद्ध स्याङ्जाकालागि विश्व अभियान’ भन्ने नारालाई शीरमा राखेर स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको हो ।
सन् २००५ मा कतारबाट सुरु भएको संगठनलाई विस्तार गरी विश्वका अन्य देशहरुमा पनि पुगेको छ । विश्वभर फैलिएर रहेका स्याङ्जालीहरुलाई सामाजिक संस्थाको माध्यमबाट जोड्दै सामाजिक सेवा, मानवीय सेवा एवम् परोपकार साथसाथै स्याङ्जा जिल्लाको कला संस्कृति तथा खेलकुदको विकासमा जोड दिंदै गतिशीलरुपमा अगाडि बढिरहेको एक सामाजिक संस्था हो । भलिबल प्रतियोगिता सँगसँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु पनि उपस्थित गराएर मनोरञ्जन प्रदान गर्ने संस्थाले जनाएको छ ।