तोलाकान्त बगाले
वालिङ, १० असोज ।
वालिङ उद्योग वाणिज्य संघले बिहीबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्य उद्योग ब्यापार ब्यवसायमा बैंक वित्तीय संस्थाको भूमिका र वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएपछि पहिलो पटक गृह नगर वालिङ आउनुभएका आचार्यलाई वाणिज्य संघले स्वागत, सम्मानसहित अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रियामा उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुहुँदै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंक तथा वित्तीय संस्था र उद्योग ब्यापार ब्यवसायबीच अन्योन्याश्रित सम्बन्ध रहेकोले बैंकको लगानीलाई उद्योगीले सही ठाउँमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । गरिमा विकास बैंकले ऋणिहरुबाट ब्याज असुल्ने भन्दापनि उनीहरुलाई केयरिङ र काउन्सेलिङ गरी कर्जाको सही उपयोगबाट ऋणिको आर्थिक उन्नतिमा काम गर्ने उहाँले बताउनुभयो ।
बैंकले साना तथा मझौला कर्जालाई प्राथमिकता दिने उद्देश्य रहेको उल्लेख गर्दै जबसम्म उत्पादन र निर्यातमा जोड दिन सकिदैन तबसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने दावी गर्नुभयो ।
उहाँले ठूला कुरामा भन्दा पनि सानो सानो कामबाट पनि अगाडि बढ्न सकिने सम्भावनाहरु औंल्याउनुभयो । हाल वालिङमा २२ वटा बैंकहरुबाट १० अर्ब कर्जा प्रवाह भएको र १२ अर्ब निक्षेप संकलन गरेको जानकारी उक्त कार्यक्रममा दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले वालिङको उद्योग ब्यापार ब्यवसायको वर्तमान वस्तुस्थिति, समस्या र चुनौतिहरुकाबारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, निवर्तमान अध्यक्ष शोभाकान्त पौडेल, सल्लाहकार एवम् निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पं. नेत्रप्रसाद पराजुली लगायतले आफ्ना आ–आफ्नो धारणा राख्नुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले र धन्यवाद ज्ञापन संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
यसैबीच स्याङ्जाको वालिङ ९ भुम्रेमा प्रधान कार्यालय रहेको गाउँबेसी साकोसले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । गाउँवेसी साकोसले संस्थाको १४ औं कारोबार दिवसको सन्दर्भमा बिहीबार एक कार्यक्रमको आयोजना गरी चार जना ब्यक्तिहरुलाई सम्मान गरेको हो । गाउँवेसी साकोसले गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यसहित अन्य संस्थाका शेयर सदस्य रहेका जनप्रतिनिधिहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँवेसी साकोसका संस्थापक सचिवको भूमिकामा रही संस्थाको श्रीवृद्धिमा योगदान पु¥याउनुभएका आचार्य हालैमात्र गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति हुनुभएकोमा संस्थाकोतर्फबाट बधाई तथा सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँवेशी साकोसका लेखा समिति पूर्व संयोजक वडा नं ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), शेयर सदस्य वडा नं १२ का वडा अध्यक्ष विश्वजंग गुरुङ र शेयर सदस्य वडा नं ९ का वडा सदस्य पेउनारायण श्रेष्ठलाई संस्थाले सम्मान गरेको हो । सम्मानित हुनुभएकामध्ये आचार्य गरिमा विकास बैंकको हाल प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्छ भने अन्य तीन जना जनप्रतिनिधिकोरुपमा कार्यरत हुनुहुन्छ ।
यसैबीच गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्य र पत्रकारहरुबीच बिहीबार वालिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञाशाहरुकाबारेमा सहजीकरण गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत आचार्यले गरिमा विकास बैंक गाउँमा जन्मिएर शहर पसेको बैंककोरुपमा पहिचान बनाएको बताउनुभएको छ । उहाँले आम नागरिकलाई आर्थिकरुपमा समृद्ध बनाउने चाहना बैंकको रहेको बताउनुभएको छ । आम नागरिक आर्थिकरुपमा सक्षम भएमा निक्षेप बढ्ने, ऋणको सहीरुपमा लगानी हुने भन्दै बैंकले सबैलाई धनी बनाउन चाहने बताउनुभएको हो । बैंकिङ क्षेत्रलाई चलायमान बनाउन सबै मानिस सक्षम र सम्पन्न हुनुपर्ने बताउनुभएको हो । बैंकले प्राप्त गरेको सफलताका पछाडि यसको विश्वसनियता सबैभन्दा महत्वपूर्ण भएको दावी गर्नुभयो ।
पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै आचार्यले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्रमात्र नभएर मुल्य वृद्धि नियन्त्रण, वित्तीय संकटलगायत आर्थिक संकटको सजिलै प्रतिरक्षा गर्न मोफसलबाट उदाएको गरिमा विकास बैंक सहित अन्य कमर्सियल बैंक सफल भएको बताउनुभयो ।
समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले राष्ट्र बैंकले त्यसतर्फ पनि काम गर्नुपर्ने उहाँको भनाइ थियो । उत्पादन र आयात प्रभावित भएका कारण बैंकमा कर्जाको माग अत्यन्त न्यून छ । उहाँले भन्नुभयो, “अधिक तरलता तथा न्यून तरलता दुवै वित्तीय क्षेत्र स्थायित्वको लागि राम्रो मानिदैन ।”
निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने वचत निरुत्साहित हुने, त्यस्तो वचतले वैंकिङ प्रणालीमा प्रवेश नपाउने, पूँजि अन्यत्र पलायन हुने, तुलनात्मकरुपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ वचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्ने हुन्छ । यस्तो अवस्था वित्तीय क्षेत्र स्थायित्वका लागि प्रमुख चुनौति मानिन्छ ।
बैकिङ लगानीमा वीमा बलियो नहुँदा थप संकटले बैंकहरुलाई चुनौति थपेको उहांँले बताउनुभयो । पत्रकार भेटघाटको सहजिकरण नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले गर्नुभएको थियो । गरिमा विकास बैंकको सिइओमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आउनुभएका आचार्यलाई बैंकर्स क्लब वालिङ लगायतका संघ संस्थाहरुले स्वागत तथा बधाई सहित सम्मान गरेका थिए ।