जिल्लाको समृद्धिकालागि साझा गौरवको योजनामा जोड दिऔंं

0
18
Google search engine

वालिङ, ६ असोज ।
स्याङ्जाका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लाको समृद्धिकालागि साझा र गौरवका योजनाहरु निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
वालिङ नगरपालिकाले आईतबार वालिङमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्लाको समग्र विकासकालागि साझा र प्राथमिकताका योजनाहरुमा जोड दिनुपर्ने बताएका हुन् ।
जिल्लाको गौरवका योजनाहरुलाई प्राथमिकीकरण गरी सबै स्थानीय तहले साझा योजना बनाई अगाडि बढाउनुपर्नेमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जोड दिनुभयो ।
“आ–आफ्नो पालिकाभित्र सबैले जे जति सक्छौं त्यो योजनामा काम पनि गरिरहेका छौं” उहाँले भन्नुभयो, “अब जिल्लाका सबै पालिकाहरुले एउटै स्वरमा जिल्लाका गौरवका योजनाहरुको प्राथमिकीकरण गरी बजेटकालागि पहल गर्ने र कार्यान्वयनमा नगई सुखै छैन ।”
अहिलेको स्याङ्जाको प्राथमिकीकरण र साझा योजनाकोरुपमा सिद्धार्थ राजमार्गको स्तरोन्नति रहेको तर्क उहाँको छ ।
पर्यटकीय राजधानीकोरुपमा रहेको पोखरा र सुनौलीलाई जोड्ने सिद्धार्थ राजमार्गले स्याङ्जा जिल्लालाई मध्यभाग चिरेर गएकाले यसको स्तरोन्नतिले सबै पालिकालाई सहज हुने उहाँले बताउनुभयो ।
जिल्लाका स्थानीय तहहरुले स्याङ्जाको समग्र विकासकालागि प्रभाव पार्न सक्ने र सबैको अपनत्व महशुस हुने गरी योजना छनोट गर्दा राम्रो हुने वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“जिल्लाको विकासमा सिद्धार्थ राजमार्गले ठूलो महत्व राखेको छ” उहाँले भन्नुभयो, “यसको स्तरोन्नति नहुँदा निक्कै सास्ती भईरहेकाले सबै पालिकाले यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ ।”
जिल्लाभित्र सुविधा सम्पन्न अस्पताल, उच्च तहको शिक्षालयहरु, रोजगारीको अवसर नहुनुजस्ता कारणहरुले जिल्लाबाट पछिल्ला वर्षहरुमा बसाईसराईँ गरेर अन्यत्र जानेको संख्यामा वृद्धि हुँदै गईरहेको छ ।
जिल्लाबाट निर्वाचित भई जानुभएका जनप्रतिनिधि तथा नेपाल सरकारको मुख्य सचिव स्याङ्जाकै एकनारायण अर्याल भएका समयमा जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिनिधिमूलक योजनाहरु निर्माण गरी सामूहिक पहलबाट अगाडि बढाउनकालागि समन्वय जरुरी रहेको जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीले बताउनुभयो ।
गृह सचिवबाट मुख्य सचिवमा नियुक्ति हुनुभएका अर्याललाई जिल्लाबासीकोतर्फबाट स्वागत, तथा नागरिक अभिनन्दनकालागि तयारी भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

Google search engine
Google search engine