ड्रागन बिक्रीबाट आम्दानी गर्दै कालीगण्डकी गाउँपालिका

0
102
Google search engine

तोलाकान्त बगाले
वालिङ, २९ भदौ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले यसवर्ष ड्रागन (सिउँडी फल) बिक्रीबाट रु. पाँच लाख बढी आम्दानी गर्ने भएको छ । वि.सं २०७६÷०७७ मा गाउँपालिकाले ड्रागन खेतीको संभावना र ब्यवसायिक उत्पादनकाबारेमा पालिकावासीलाई जानकारी दिने गरी स्थापना गरेको ड्रागन बगैंचाबाट अन्ततः पालिकाले आम्दानी लिन थालेको हो ।
कालीगण्डकी गाउँपालिकाले यसवर्षको साउन मसान्तसम्म रु. दुई लाख पचास हजार बढीको ड्रागन बिक्री गरी आम्दानी गरिसकेको कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो ।
“साउन महिनासम्म ड्रागन फल बिक्रीबाट दुई लाख पचास हजार बढी आम्दानी गरिसकेका छौं” उहाँले भन्नुभयो, “फूल तथा फल लाग्नेक्रम जारी रहेकाले यो याममा पाँच लाख बढी मुल्यको ड्रागन बिक्री गर्छौं ।”
गाउँपालिकाले उत्पादन गरेको ड्रागन फल गाउँपालिकाभित्रै तथा बाहिरका बुटवल पोखरा लगायतका बजारमा बिक्री हुने गरेको छ । प्रतिकेजी रु. ४ सयदेखि ५ सयमा ड्रागन बिक्री हुँदै आएको छ । “उत्पादन भएको ड्रागनकालागि बजारको कुनै समस्या छैन” उहाँले भन्नुभयो, “स्थानीय बजारमा बिक्री भएको भयो नभएका ड्रागन बाहिरका शहरहरुबाट माग भई आएका ठाउँमा पठाउने गरेका छौं ।”

Google search engine

गाउँपालिकाले ड्रागन फल बिक्रीबाट आएको आम्दानीलाई राजश्वमा दाखिला गर्ने गरेको छ । यसवर्ष ४० प्रतिशत बिरुवाबाट फल लागेको र आगामी वर्ष शतप्रतिशत बिरुवाले उत्पादन दिने दावी उहाँको छ । सबै बिरुवामा फल लाग्दा उत्पादन दोब्बरभन्दा बढीले वृद्धि हुनुकासाथै आम्दानीमा पनि वृद्धि हुने उहाँले बताउनुभयो । सिञ्चाईकालागि पानी कम भएका तर ठुला ठुला बारीका पाटाहरु भएको विशेष गरी विर्घा क्षेत्रमा यसको संभावना देखेर पालिका आँफैले जग्गा भाडामा लिएर ड्रागन खेतीको परीक्षण गरेको थियो ।
गाउँपालिकाले वडा नं. ४ को बिर्घा पुछारमा नमूना ड्रागन फ्रुट बगैंचा स्थापना गरेको हो । २४ रोपनी क्षेत्रफलमा ड्रागन बगैंचा फैलिएको छ । २४ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा एक हजार ६ सय खम्बाहरु छन् । प्रति खम्बा ३ वटाका दरले पालिकाले चार हजार ८ सय बिरुवा लगाएको छ । यहाँको माटो तथा हावापानी ड्रागन खेतीकालागि उपयुक्त भएकाले गाउँपालिकाले नर्सरी स्थापना गरी बिरुवा उत्पादनसमेत गर्दै आईरहेको छ ।
सिञ्चाईको अभावमा बाँझो रहेको जमिनको सदुपयोग गरी ड्रागन खेतीतर्फ कृषकलाई आकर्षित गर्न गाउँपालिकाले खम्बा र बिरुवामा अनुदान दिंदै आएको छ । गाउँपालिकाले खम्बामा शतप्रतिशत र बिरुवामा ५० प्रतिशत अनुदान दिने गरेको उहाँले बताउनुभयो । अनुदान प्राप्त गर्न किसानले न्यूनतम ३५ खम्बामा १०५ वटा बिरुवा लगाउन अनिवार्य गरिएको छ ।
गाउँपालिकाले ड्रागन खेतीको ब्यवसायिक उत्पादनमा जोड दिंदै खम्बा र बिरुवामा अनुदान उपलब्ध गराएसँगै अहिले १५ जना किसानले आ–आफ्नो खेतबारीमा ड्रागन खेती विस्तार गरेका छन् । ड्रागन बगैंचा ब्यवस्थापनकैलागि गाउँपालिकाका २ जनाले रोजगारीसमेत पाएका छन् ।

Google search engine