तोलाकान्त बगाले
वालिङ, २७ भदौ ।
स्याङ्जामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा पर्यटन पूर्वाधारका २९ योजना छनोट भई कार्यान्वयनको चरणमा छन् ।
गण्डकी प्रदेश सरकारले स्याङ्जाका २९ पर्यटन पूर्वाधार आयोजनाकालागि बजेट विनियोजन गरेसँगै पूर्वाधार निर्माण हुने भएको हो ।
गण्डकी प्रदेशले २९ योजना सञ्चालन गर्न रु. दुई करोड ४५ लाख बजेट विनियोजन गरेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो ।
स्याङ्जाका विभिन्न स्थानीय तहमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पौराणिक एवम् पर्यटकीय महत्वका स्थानहरुको संरक्षण, सम्वद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नकालागि पर्यटनसँग जोडिएका स्थानहरुमा पूर्वाधार निर्माण हुने उहाँले बताउनुभयो ।
“पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको संरक्षण गर्नुकासाथै पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाउँछौं” उहाँले भन्नुभयो, “आवश्यकता हेरी पर्यटकको सहज आवागमनमा ध्यान दिंदै पदमार्ग हुनेछ ।”
जिल्लाका विभिन्न ठाउँमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, पौराणिक, पर्यटकीय दृष्टिले छुट्टाछुट्टै पहिचान रहेका स्थलहरु भएकाले तिनीहरुको पहिचानलाई संरक्षण गर्दै थप पूर्वाधार निर्माण गरिने भएको हो ।
स्याङ्जाका एघार स्थानीय तहमध्ये दश वटा स्थानीय तहमामात्रै पर्यटन पूर्वाधार निर्माण कार्य हुने भएको हो । हरिनास गाउँपालिकामा चालु आवमा एउटा पनि पर्यटन पूर्वाधारसम्बन्धी आयोजना प्रदेशबाट छनोटमा परेको छैन ।
बाँकी रहेका दश वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै आयोजना वालिङ नगरपालिकामा छन् । वालिङमा ५ वटा, गल्याङमा ४ वटा, पुतलीबजार, आँधीखोला, कालीगण्डकी, फेदीखोला, अर्जुनचौपारीमा समान ३÷३ वटा, भीरकोट र चापाकोटमा समान २÷२ वटा र विरुवमा एकमात्रै आयोजना छनोट भएको हो ।
२९ आयोजनामध्ये ९ वटा ५÷५ लाखका छन् । बाँकी २० आयोजना १०÷१० लाखका रहेका छन् ।
२९ आयोजनामध्ये धेरै जसो नयाँ आयोजनाहरु छन् । केही आयोजनाहरु गतवर्ष अपूरा भएकाले पूर्णता दिनकालागि यसवर्ष पनि बजेट विनियोजन भएको देखिन्छ ।
गत आव २०८०÷०८१ मा स्याङ्जामा ४५ आयोजनाहरु छनोट भई कार्यान्वयन भएका थिए । ४५ आयोजनाकालागि रु. दुई करोड ८५ लाख बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।