वालिङ, २६ भाद्र ।
स्याङ्जामा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख तथा जनस्वास्वास्थ्य अधिकृत केशव चापागाइँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएका छन् । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । कार्यालयका अनुसार सबै भन्दा धेरै क्षयरोगीका बिरामी वालिङमा छन् । वालिङ नगरपालिकामा ७९ जना क्षयरोगीका विरामी छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेँदिखोला गाउँपालिकामा ६, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा ५ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा ५ जना र आँधीखोला गाउँपालिकामा ४ गरी २८१ जना क्षयरोगी छन् ।
स्याङ्जामा प्रतिलाख जनसंख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसंख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भएपनि जिल्लामा अझै पनि परिक्षणको दरमा कमी आएको छ । क्षयरोगको लक्षण देखिएपछि तथा लगातार खोँकी लागरिहेका बेला स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ ।
क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण भइरहेको छ । संक्रमित भएका हरेक वडा वडामा क्षयरोगको औषधी निशुल्क रुपमा वितरण भईरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक हुने जस्ता लक्षणहरु देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।