तोलाकान्त बगाले
वालिङ, २९ साउन ।
उद्योगी, ब्यवसायी एवम् बरिष्ठ समाजसेवी डोलराज शर्माले मंगलबार वालिङका दुई विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गर्नुभएको छ ।
स्याङ्जाको वालिङ ८ काफलडाँडामा घर भई हाल काठमाडौं बस्दै आउनुभएका शर्माले वालिङ ८ का तेजप्रगति आधारभूत विद्यालय काफलडाँडा र भगवती आधारभूत विद्यालय चिथाभञ्ज्याङलाई सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
शर्माले उपलब्ध गराउनुभएको उक्त सामग्रीहरु युवा समाजसेवी केशभक्त गुरुङले मंगलबार दुबै विद्यालयमा पुगेर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
वरिष्ठ समाजसेवी उद्योगी ब्यवसायी शर्माले सानैमा अक्षर सिकेको विद्यालयकोरुपमा रहेको तेजप्रगति विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक र खेलकुदका गतिविधि सञ्चालनकालागि सहयोगी सामग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो ।
यसअघि पनि तेजप्रगति आधारभूत विद्यालयमा सहयोग उपलब्ध गराउँदै आउनुभएका शर्माले पछिल्लो समय नगद रु. दुई लाख समेत हस्तान्तरण गर्नुभएको थियो । यहीँको स्थानीय भएको नाताले समाजसेवी शर्माले विभिन्न समयमा विद्यालय तथा अन्य क्षेत्रमा निरन्तररुपमा सहयोगहरु प्राप्त हुँदै आएको तेजप्रगति आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उपाध्यायले बताउनुभयो ।
विद्यालयलाई सामग्री उपलब्ध गराउने समाजसेवी शर्माप्रति आभार ब्यक्त गर्दै प्राप्त शैक्षिक तथा खेलकुदका सामग्रीको सही सदुपयोग विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गैह«ेले बताउनुभयो ।
भगवती आधारभूत विद्यालय चिथाभञ्ज्याङमा यसअघि आर्थिक सहयोग गरिसक्नुभएका शर्माले यसपटक शैक्षिक र खेलकुदका सामग्री उपलब्ध गराउनुभएको हो ।
स–साना बालबालिकालाई खेल्दै पढ्दै गर्नकालागि यस प्रकारका शैक्षिक सामग्रीले टेवा पुग्ने भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले बताउनुभयो । समय समयमा विद्यालयलाई सहयोग गर्दै आउनुभएका समाजसेवी शर्माले उपलब्ध गराउनुभएको शैक्षिक तथा खेल सामग्रीहरुले विद्यार्थीको सिकाई क्रियाकलापलाई सहयोग पुग्ने बताउँदै सहयोगी दाता शर्माप्रति धन्यवाद ज्ञापन गर्नुभयो । समाजसेवी शर्माले सो विद्यालयमा रु. एकलाख १२ हजारको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ ।
कोभिड महामारीका बेला समाजसेवी शर्माले वालिङ नगरपालिका तथा वालिङस्थित ग्रहौं प्राथमिक अस्पताललाई स्वास्थ्यसामग्री, उपकरणहरु हस्तान्तरण गर्नुभएको युवा समाजसेवी गुरुङले बताउनुभयो ।