वालिङ, २६ साउन ।
स्याङ्जाको वालिङमा सामूहिकरुपमा पन्ध्र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका पन्ध्र जना ज्येष्ठ नागरिकलाई शनिबार वालिङमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका १४ वटै वडामा रहनुभएका सबैभन्दा ज्येष्ठ नागरिकहरुलाई वालिङमा ल्याई सामूहिकरुपमा सम्मान गरिएको मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताउनुभयो । “वडा कार्यालयहरुबाट ज्येष्ठताका आधारमा नाम सिफारिस भई आउनुभएका ज्येष्ठ नागरिकहरु सबैलाई एकै स्थानबाट सम्मान गरेका हौं” उहाँले भन्नुभयो, “यसलाई आगामी वर्षहरुमा पनि निरन्तररुपमा अगाडि बढाउँछौं ।”
कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरुप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन गराउँदै ज्येष्ठ आमाबुवाको स्याहारसुसारमा ध्यान केन्द्रीत गराउने उद्देश्य मातापिता प्रतिष्ठानको रहेको छ । “ज्येष्ठ नागरिकहरु हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन्” उहाँले भन्नुभयो, “जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनकालागि साङ्केतिकरुपमा सम्मान गरेका हौं ।”
एघार जना पुरुष र चार जना महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदद्वारा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वडा नं. १ बाट दुई जना ज्येष्ठ नागरिकहरु हुनुहुन्छ । अन्य वडाबाट एक÷एक जना सम्मानित हुनुभएको हो । सम्मानित हुनुभएका ज्येष्ठ नागरिकहरु ८५ वर्षभन्दा माथि उमेर समूहका हुनुहुन्छ ।
वालिङ ८ की ९३ वर्षीया चन्द्रकला सुवेदी आँफू सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । बुढेशकालका मान्छेहरुलाई खोजी खोजी सम्मान गर्दा निक्कै खुसी लागेको बताउँदै यसले राम्रो सन्देश दिएको धारणा ब्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकहरुलाई गण्डकी प्रदेश सभा सदस्य, अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले सम्मान गर्नुभएको थियो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले ज्येष्ठ नागरिक र उहाँहरुको परिवारमा सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरु अनुभवको खानी भएकाले उहाँहरुसँग भएको अनुभवलाई ग्रहण गर्नु आजको आवश्यकता उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, ७ का अध्यक्ष पाण्डुकुमार थापा, ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, सम्मानित जेष्ठ व्यक्तिहरुकोे तर्फबाट पुर्व मेयर लालचन्द गैह्रे, बयोबृद्ध तुलसीराम पंगेनी, गायक बुद्धिसागर, बस्याललगायतले प्रतिष्ठानको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष प्रदिप बगाले र संचालन सचिव भरत बगालेले गर्नुभएको थियो । सम्मानित जेष्ठ नागरिकहरुलाई सम्मानपत्र र नगदले सम्मान गरिएको हो । संस्थाले सबैलाई समेट्न नसकेपनि प्रतिनिधि मुलक कार्यक्रम गरेको भन्दै सम्बन्धीत वडा तथा अन्य संस्थाहरुले पनि समाजका अभिभावकहरुलाई सम्मान गरुन भन्ने ध्येयले यो कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।